घरमा काम गर्ने युवती बलात्कार गरेको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ
घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको आरोप लागेका इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई आज त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालबाट नियन्त्रणमा लिएको हो ।
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेलले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै रामेछापकी आस्था बस्नेतले गत हप्ता किटानी जाहेरी दिएकी थिइन् । ‘स्टे अर्डर’ लिएर बसेका पोखरेललाई पक्राउ नगरिएको भन्दै चौतर्फी विरोध भएपछि काठमाडौं जिल्ला अदालतले केही दिनअघि पक्राउ पूर्जी जारी गरेको थियो ।
आज बिहान उपचारका लागि ब्लुक्रस अस्पताल पुगेका उनलाई त्यहीबाट पक्राउ गरिएको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल अधिकारीले बताए । पोखरेल पूर्व गृहसचिव पदम पोखरेलका भाइ हुन् ।
त्यस्तै, गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका फणिन्द्रमणि पोखरेल उनका दाइ नाता पर्छन् ।
टिप्पणीहरू