गौर हत्याकाण्डको विषयले माओवादीमा कित्ताबन्दी
गौर हत्याकाण्ड छानबिनकाे मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र बिभाजित भएको छ । यस बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ पीडित भनिएको माओवादी आफैँ दुई खेमामा बाँडिएको हो ।
सत्तारुढ ६ दलीय मोर्चामा आवद्ध भएर पार्टीकै एउटा खेमाले आन्दोलन गरेपछि जिल्ला इन्चार्ज समिर भट्टराईले त्यसमा आफूहरुको नभएको प्रस्टाएका छन् । गौरमा केही दिनअघि माओवादी केन्द्रको ब्यानरसहित सत्ता गठबन्धनमा आवद्ध दलहरुले गौर हत्याकाण्डको छानविन गर्न माग गर्दै आन्दोलन गरेका थिए । तर, भट्टराईले भने त्यसमा आफनो पार्टीको संलग्नता नरहेको बताए ।
‘आज भन्दा १७ वर्ष अगाडि भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले बिज्ञप्ति जारी गर्दै भनेका छन ।
गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठूलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्छ भन्नेमा माओवादी दृढ रहेको पनि इन्चार्ज भट्टराईले बताएका छन् ।
पूर्वमाओवादी नेतासमेत रहेका प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै साह नेतृत्वमा सो आन्दोलन भएपछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेका थिए ।
६ दलीय सत्तारुढ गठबन्धनले गरेको साहविरूद्दकाे आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिएपछि यस विषयलाई लिएर सो पार्टीमा कित्ताबन्दी देखिएको हो । सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरु सहभागी छन् भन्नेकुरा चै भट्टराईको विज्ञप्तिमा खुलाइएको छैन ।
२०६३ मा मा रौटहटको गौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएको घटना 'गौर हत्याकाण्ड' का रुपमा चर्चित छ । १६ वर्षअघिको उक्त हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्दै गत जेठमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि यो विषय पुन: विवादमा आएको हो ।
तत्कालीन समयमा फोरमको अध्यक्ष रहेका उपेन्द्र यादव यस घटनामा दोषी रहेको प्रभु साहहरुको दावी रहँदै आएको छ । प्रभु निकट भनिने रौतहटकै त्रिभुवन साहलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
टिप्पणीहरू