ऋण मिनाहाको प्रलोभनमा मीटरब्याज पीडित महिलामाथि बलात्कार

ऋण मिनाहाको प्रलोभनमा मीटरब्याज पीडित महिलामाथि बलात्कार

मीटरब्याज पीडितलाई ऋण मिनाह गराइदिने प्रलोभनमा पारेर एक मीटरब्याज पीडित महिलामाथि बलात्कार भएको घटनाका सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चासो राख्नुभएको छ । 

गृहमन्त्रीले घटनाको वास्तविकता बुझ्न पीडित महिलासहित मीटरब्याज पीडित संघर्ष समितिका पदाधिकारीहरुलाई आज दिउँसो मन्त्रालयमा बोलाएर छलफल गरेको बताइएको छ । छलफलमा संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाह, प्रवक्ता निर्ग नवीन, अभियन्ता कृष्ण सुनुवारलगायतको टोली सहभागी थियो । 

ललितपुरको गोदावरीमा बस्ने पीडित महिलाले रत्नपार्कस्थित शान्तिबाटिकाभित्र रहेका संघर्ष समिति सदस्यहरुलाई भेटेर आफूलाई साहुले बलात्कार गरेको जानकारी गराएपछि यो घटना बाहिर आएको हो । ऋण मिनाहा गरिदिने वाचा गरेर करणी गरेका मीटरब्याजीले उल्टै सम्पत्ति जफत गरेको ती महिलाको गुनासो छ । 

घटनापछि शान्तिवाटिकामै बसेकी उनलाई आज संघर्ष समितिको टोलीले गृहमन्त्रीसँग भेट गराउन सिंहदरबार लगेको हो । उनीहरु दिउँसो साढे २ बजेतिर प्रहरी वृत्त दरबारमार्गको भ्यानमा मन्त्रालय पुगेका थिए ।

टिप्पणीहरू