विश्वमा बाघको संख्या बढ्यो, नेपालमा तीन सयको हाराहारी

विश्वमा बाघको संख्या बढ्यो, नेपालमा तीन सयको हाराहारी

विश्वभर एक शताब्दीअघि एक लाखको हाराहारीमा रहेको बाघको संख्या  सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विभिन्न मुलुकको प्रयासले यो संख्या बढेर सन् २०१६ मा तीन हजार नौ सय र गत वर्ष चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषले जनाएको छ ।

पाटे बाघ विश्वका एक दर्जन मुलुकमा मात्र पाइन्छ । उक्त बाघ जोगाउन सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही संकल्पअनुसार गत वर्ष बाघको संख्या ४५ सय पुगेको बताइन्छ ।

नेपालमा १५ वर्षअघि बाघको संख्या एक सय २१ थियो । गत वर्ष तीन सय ५५ पुगेको बताइन्छ । तीमध्ये धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ रहेको तथ्याङ्क छ । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा निकुञ्जमा ३६ वटा बाघ रहेको सरकारी आकडामा उल्लेख छ ।

नेपाललगायत विश्वमा भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छ । 
आज विश्व बाघ दिवसको अवसरमा उक्त जानकारी दिइएको हो । यो वर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रमका साथ बाघ दिवस मनाईंदै छ । यस वर्षको बाघ दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।

आज जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम आयोजना गरिएको छ । सोही अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको छ । कार्ययोजनामा बाघको संख्यासँगै थपिएको चुनौती व्यवस्थापनका विषय समेटिएको बताइन्छ । 

पाटे बाघ संरक्षणको निम्ति हरेक वर्ष जुलाई २९ का दिन ‘विश्व बाघ दिवस’ मनाउने गरिएको छ ।

टिप्पणीहरू