विदेश जाने प्रलोभनमा ठगलाई आधा करोड बुझाएपछि...

विदेश जाने प्रलोभनमा ठगलाई आधा करोड बुझाएपछि...

वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिने नाममा ठग्दै हिँडेका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारण ठगेका कपिल वर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको जनाएको छ । महोत्तरी घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिलले वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिने प्रलोभनमा पारेका थिए । त्यहाँको प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने झुठो आश्वासन दिएका थिए । 

नेदरल्याण्ड जान प्रतिव्यक्ति १२ लाख खर्च लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब हुने भन्दै पीडितहरुबाट पटक पटक गरेर ४४ लाख ५० हजार उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले वर्माको खोजतलास गरेको हो । सोही क्रममा आज काठमाडौंको मण्डिखाटारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान एवम् कारबाहीको निम्ति विभागमा बुझाइएको छ ।

टिप्पणीहरू