स्थानीयको आक्रमणपछि हतकडीसहित तस्कर बेपत्ता, प्रहरीका दुई हाकिम घाइते
बारामा स्थानीय र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । प्रहरीले अभियुक्त पक्रेको विरोधमा जितपुर सिमरा–१६, टांगियाबस्तीका स्थानीय अवरोधमा उत्रिएपछि आज बिहान भिडन्त भएको हो ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले हतियार रहेको आशंकामा छापामार्दै पक्राउ परेका ३५ वर्षीय सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन स्थानीय आक्रमणमा उत्रिएका थिए । करिब तीन सयको संख्यामा रहेका स्थानीयले १५ जनाको प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्दै हतियारसहित पक्राउ परेका लामालाई हतकडीमै भगाउन सफल भएका छन् ।
दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बायाँ हातमा चोट लागेको छ भने गिरीको बायाँ कुम र बायाँ हातमा चोट लागेर घाईते भएका हुन् । स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायरसमेत गरेको थियो ।
ठूला हतियार रहेको गोप्य सुराकीको आधारमा लामाको घरमा छापा मार्न प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली बिहानै पुगेको थियो । त्यसक्रममा लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जङ्गल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उक्त स्थानबाट प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, गोली दुई वटा, बाघको दाँत जस्तो देखिने दुई वटा, रौं १३ वटा र नङ्ग्रा तीन वटा बरामद गरेको बोगटीले बताएका छन् । लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू