नक्कली लालपुर्जा वितरणपछि सम्बन्धित कागजात नियन्त्रणमा

नक्कली लालपुर्जा वितरणपछि सम्बन्धित कागजात नियन्त्रणमा

-ऋषि भट्टराई  

बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ । बुटवल ११, न्यू दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै रकम संकलन गरेको सूचनाका आधारमा नगरपालिकाको टोलीले नक्कली लालपुर्जा,रकम संकलन गरेका रसिद,जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको बताइएको छ ।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको,अवैध रुपमा लालपुर्जा वितरण र रकम संकलन गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिइएको भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिएका छन् । उनका अनुसार संस्थाको क्षेत्राधिकार बाहिर गएर टोल विकासले जग्गासम्बन्धी काम गरेको पाइएकाले आवश्यक कारबाही गरिने छ । 

उक्त संस्थाले लालपुर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीयले बताएका छन् । पीडितहरुका अनुसार लालपुर्जा पाइने प्रलोभनमा स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो ।

टिप्पणीहरू