चितुवाको छाला र काठ, काका-भतिज साँठगाँठ
बैतडीमा सामुदायिक वनका अध्यक्ष नै चितुवाको छाला बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । चितुवाको छाला वनका अध्यक्षले भतिजको गाडीमा महेन्द्रनगर पुर्याएर बिक्री गरेका थिए । कञ्चनपुर प्रहरीले छाला किन्ने दुई जनालाई पक्राउ गरेपछि उनै सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।
साउन ४ गते राति प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२, रिङरोडबाट चितुवाको छालासहित बैतडीका दुई जनालाई पक्रेको थियो । पक्राउ पर्नेमा बैतडी दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह बिष्ट र पाटन नगरपालिका–८ का ३० वर्षीय हर्कबहादुर बिष्ट थिए । ६ फिट ११ इञ्च लम्बाई, २ फिट ४ इञ्च चौंडाई र पुच्छरसहितको कुल लम्बाई ७ फिट ३ इञ्चको एउटा र अर्को पनि झण्डै उत्रै आकारको चितुवाको छालासहित उनीहरु पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरको जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त छाला फेला परेको हो ।
पक्राउ परेका दुवै जनाले चितुवाको छाला बैतडीमा किनेको बयान दिएपछि बैतडीको सिगास गाउँपालिका–१ का परमानन्द भट्टलाई प्रहरीले पक्रेको बताइन्छ । अहिले उनीमाथि मालाखेती इलाका प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । भट्ट सिगास गाउँपालिका–१ को सामुदायिक वनका अध्यक्ष हुन् ।
अध्यक्षलाई भतिजले फसाएको आरोप
प्राप्त जानकारी अनुसार वनका अध्यक्ष भट्टलाई उनकै भतिज महेन्द्रनगर निवासी नरेन्द्र भटट्ले फसाएको खुल्न आएको छ । काठ व्यवसायी नरेन्द्रले चितुवाको छाला खोज्न काकालाई अह्राएका थिए । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । नरेन्द्र आफ्नो निजी गाडीमा बैतडी आवतजावत गर्ने, पहाडबाट सल्लाको काठ ल्याउने व्यवसायी हुन् । काठको कारोबारसँगै नरेन्द्रले चितुवाको छाला खोज्न आफ्नै काका रघुवीर भट्टलाई पनि परिचालन गरेको तथ्य खुलेको छ । रघुवीरले एउटा छाला आफैसँग रहेको नरेन्द्रलाई जानकारी दिए र अर्को छाला २५ हजारमा किन्ने सल्लाह दिएको बताइन्छ ।
घटना विवरणअनुसार काकाको सल्लाहबोमोजिम नरेन्द्र भट्ट महेन्द्रनगरबाट निजी गाडीमा बैतडी पुगे । आफ्नै काका अध्यक्ष रहेको वनबाट सल्लाको दुई हजार क्युबिक फिट काठ किने ।उक्त काठसँगै बाघको छाला खोज्न आग्रह गरे । एक करोड मूल्यको गाडी चढ्ने नरेन्द्रसँग मेहन्द्रनगर, काठमाडौंलगायत स्थानमा घर घरेडी प्रशस्त भएको पारिवारिका स्रोतको भनाई छ । भतिजको प्रलोभनमा परेका वन अध्यक्ष परमानन्द चितुवाको छाला खोजेर भतिजकै गाडीमा बसेर महेन्द्रनगर पुगे ।
उक्त छालालाई केही समय दुबै जनाले घरमा लुकाएको थिए । नरेन्द्रसँग बैतडीबाट चितुवाको छाला ओसारपसार गर्ने दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देबसिंह बिष्ट र पाटननगरपालिका–८ का ३० वर्षीय हर्कबहादुर बिष्ट सम्पर्कमा थिए । तर, नरेन्द्र आफू प्रहरीबाट बच्न काका परमानन्द, देबसिंह र हर्कबहादुरलाई परिचालन गरेर उम्कन सफल भएको प्रहरीको अनुमान छ ।
नरेन्द्रले आफ्नै काकाको घरमा फोन गरेर मुद्दा मिलाउन अहिले लाखौंको बार्गेनिङ गरेको परिवारका सदस्यहरुको भनाई छ । परमानन्दलगायत सबैलाई छुटाउन ठूलो धनराशी खर्च गर्नुपर्ने बताउँदै उनले अर्को खेल खेलेको भन्नेहरु पनि देखिन थालेका छन् ।
वडा कार्यालयमा काठ अलपत्र
चितुवाको छाला ओसारपसारको आरोपमा प्रहरी हिरासतमा रहेका सामुदायिक वनका अध्यक्ष भटट्का कारण बैतडीको सिगास–१, बाट किनेको सल्लाका दुई हजार क्युबिक फिट गोलियाको काठ सिगास–१, को वडा कार्यालयमा अलपत्र अवस्थामा छ । सल्लाको गोलियासँगै चिरानी गरिएका काठसमेत रहेको स्थानीय बताउँछन् । काठ व्यवसायी नरेन्द्रले काठ चिरानीमा संलग्न मजदुरहरुको ज्यालासमेत नदिएको उनीहरु बताउँछन् ।
योसँगै बिक्री हुन बाँकी अरु काठ पनि अलपत्र अवस्थामा देखिन्छ । बैतडीका जिल्ला वन अधिकृत गणेश ठगुन्नाले कञ्चनपुरमा चितुवाको छाला प्रहरीले समातेको आफूले पनि जानकारी पाएको बताए । पक्राउ परेका तीन जनामध्ये दुई जना भरिया भएको र घटनाबारे थप जानकारी प्राप्त भइनसकेको उल्लेख गरे । डडेल्धुरा र बैतडीको डिभिजन वन कार्यालयमा भएको आर्थिक अनियमितता र छानबिनबारे पनि उनले थाहा नभएको जवाफ दिए ।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट उपसचिव भरत भट्टको नेतृत्वमा छानबिन भएको बताइएको छ । टोलीमा कानुन अधिकृत विजय ओझासहित तीन जना छन् ।
टिप्पणीहरू