सुनसरी हत्याकाण्डका दुई जना सार्वजनिक

सुनसरी हत्याकाण्डका दुई जना सार्वजनिक

सुनसरीमा हालै भएको हत्याकाण्डका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। । धरान–इटहरी सडकको सेउती पुल नजिक विराटनगरका रोहित चौधरीको गोली हानेर हत्या गरेका दुई जनालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । 

लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षे दीपक तिम्सिना र धरान १४ का ३४ वर्षे अनसन तामाङ उक्त अभियोगमा हिजो पक्राउ परेका हुन् । प्रहरीका अनुसार एक जना अझै  फरार छन् । 

साउन ५  गते विराटनगर ५ का चौधरीको गोली हानेर हत्या गरिएको थियो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लुटपाटको प्रतिकार गर्दा हत्या भएको खुल्न आएको छ ।

उनीहरू दुवै लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागुऔषध मुद्दामा यसअघि छ महिना कारागार बसिसकेका हुन् ।

उनीहरूले गत असार ८, असार १३ र असार ३१ गते बसमा पेस्तोल देखाएर लुटपाट गरेका थिए । साउन ५ गते लुटपाटको प्रतिकार गरेपछि गोली प्रहार भएको थियो । लुटपाटका मुख्य योजनाकार र गोली प्रहार गर्ने तिम्सिना रहेको प्रहरीले बताएको छ । 

पक्राउ परेकाको साथबाट हत्यामा प्रयोग भएको पेस्तोल, गोलीलगायत बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

टिप्पणीहरू