हाकिम सा’बको फोन
नाम त उसको कालीप्रसाद हो । तर, हामी कालु भनेर बोलाउँछौँ । कोही–कोहीले त काले भनेर पनि बोलाउँछन् । त्यो उनीहरूको आपसी सम्बन्धको कुरा होला । कालीप्रसाद उर्फ कालु नेपाल सरकारको एउटा सरकारी कार्यालयमा काम गथ्र्यो । पदचाहिँ पियन मात्रै हो । तर, सरकारी भएपछि पियन पनि कम हुँदैन, गफ मार्नमा ।
हिजो चोकको चिसा पसलमा भेट भयो । प्रसंगचाहिँ उही । सुन काण्ड । सुन समातेकोमा सबैले सरकारको तारिफ गरिरहेको छ । यसो भयो भने सरकार धमाधम लोकप्रिय हुँदै जान्छ होला । मैले यति मात्रै भनेको थिएँ । कालुको स्वर ठूलो भइहाल्यो, ‘सरले ठीक भन्नुभयो । सरकार अहिले साह्रै लोकप्रिय भएको छ । त्यत्रो सुन समाउनु सानो काम त होइन नि !’
मैले भनेँ, ‘मलाई पनि त्यस्तै लाग्छ । त्यत्रो सुन समाएको छ । सरकारलाई धन्यवाद दिनै पर्छ ।’
‘तर एउटा कुरा सर, ’ कालु कपाल मिलाउँदै मेरोसामु आइपुग्यो, ‘सरकारलाई यस्तो काम गराउनमा मेरो पनि ठूलो भूमिका छ । अझ के भनौँ, मैले गर्दा नै यो काम गरेको भन्दा पनि हुन्छ ।’
‘हँ ?! हो र ? कसरी ?’ मेरो मुखबाट एकाएकै बहुप्रश्न फुत्क्यो ।
पियन कालुले भन्यो, ‘हेर्नोस्, त्यो दिन म अफिसमै चिया पकाइरहेको थिएँ । हाकिम सा’बलाई अलि रंग कडा चाहिने । केहीबेर पकाएपछि चिया पनि पाक्यो । अब हाकिम सा’बलाई चिया दिऊँ भनेर कोठामा गएको, उहाँ त ट्वाइलेट जानुभएको रहेछ । कोठामा कोही थिएन । त्यही बेला मोबाइल बज्यो । उहाँ ट्वाइलेट जानुभएकोले उठाउने कुरा पनि भएन । झट्ट गएर मैले उठाइदिएँ । मैले फोन उठाएको मात्र थिएँ, हाकिम साब ट्वाइलेटबाट निस्किनुभयो । मैले फोन टक्राइहालेँ । एअरपोर्टमा शंकास्पद वस्तु समातेको छ, चाँडो आउनुपर्यो भनी खबर गर्न फोन गरेको रहेछ । हाकिम सा’ब चिया पनि नखाई कुदिहाल्नुभयो । एकैछिनमा खबर आयो कि एअरपोर्टमा ठूलो परिमाणमा सुन समातिएको छ । ल हेर्नोस् । मैले फोन उठाएर हाकिम साबलाई नदिएको भए त्यत्रो सुन समाउन सकिन्थ्यो ? मेरै कारण त सुन समाउन सकियो नि ! त्यसैले यो सुन समाउनमा मेरो पनि ठूलो हात छ । मैले गर्दा नै सुन समाउन सकेको हो । नभए सकिन्थ्यो ?’
कालुले मेरो अनुहार हेर्न थाल्यो । सायद के प्रतिक्रिया आउला भनेर जाँच्नलाई होला । मलाई भने ठीक त्यही बेला सुनकाण्डबारे राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गर्नुभएको दाबी सम्झना भएर हैरान !
टिप्पणीहरू