चाउचाउको कार्टुनमा आधा करोड नक्कली नोट
राजधानीबाट नक्कली नोट कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । उनीहरुसँगै ५२ लाख ७५ हजार नक्कली नोट फेला परेको बताइएको छ ।
काठमाडौं प्रहरी परिसरले आज नक्कली नोट र कारोबारमा संलग्नहरुबारे जानकारी गराएको हो । हिजो थानकोट नागढुंगाबाट चाउचाउको बक्सभित्र हालिएको नक्कली नोट प्रहरीले बरामद गरेको हो ।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार लु.१ प ५ नम्बरको पर्यटक बसमा राखेर नक्कली नोट ल्याउँदै गरेको अवस्थामा बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएपछि थप रहस्य खुलेको हो । त्यसपछि बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट अरु नक्कली नोट फेला परेको बताइन्छ ।
सबैतिरबाट गरेर हालसम्म ५२ लाख ७५ हजार नक्कली नोट बरामद भइसकेको छ । तीमध्ये १७ लाख सिन्धुपाल्चोकका अर्जुन सुवेदीको कोठामा फेला परेको हो ।
नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, नवलपरासीकी पार्वती नेपाली, सिन्धुपाल्चोकका कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्यलाई नियन्त्रणमा लिएको हो ।
टिप्पणीहरू