गरिबी निवारणको रकम हसुरेका सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

गरिबी निवारणको रकम हसुरेका सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बराईलीसहित तत्कालीन सचिव रामबहादुर मगर, सल्लाहकार समूह संयोजक अर्जनकुमार थापा, कोषाध्यक्षहरु रामकुमारी खत्री, चन्द्रकला श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ ।

त्यस्तै, उपभोक्ता समूहका उपभोक्ता एवम् चिलाउनेगौंडा हिले खोला क्रसिङ्ग फुटपात पुलका अध्यक्ष दिलबहादुर मगर, कोषाध्यक्ष रस्मिला बराईली र दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि आपसी मिलोमतोमा सरकारी रकममा लामो हात गरेको अभियोग छ । 

उपभोक्ता समूहबाट निर्णय नै नगराई लागत इस्टिमेट र प्राविधिक बिल भरपाई नै नराखी उनीहरुले गरिबी निवारण शीर्षकमा विनियोजित रकमलाई कार्यक्रम नै नभएको पुल निर्माणमा खर्च गरेको किर्ते कागज बनाएर ४० लाख भुक्तानी लिएको अख्तियारको दाबी छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम उक्त रकम जफत गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

टिप्पणीहरू