आफ्नै मुलुकका नागरिकलाई बन्धक बनाउने आधा दर्जन बंगलादेशी पक्राउ
वैदेशिक रोजगारको प्रलोभनमा नेपाल बोलाएर आफ्नै देशका नागरिकलाई बन्धक बनाएका पाँच जना बंगलादेशी र दुई जना नेपालीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले नेपाल हुँदै विभिन्न मुलुक पठाइदिने प्रलोभनमा देखाएर काठमाडौंमा सात जनालाई बन्धक बनाएका थिए ।
विदेश पठाउनुको सटट उनीहरुलाई बन्धक बनाएर बंगलादेशमा रहेका पीडितका परिवारसँग फिरौती रकम मागेको अभियोगमा प्रहरीले दुई नेपाली महिलासहित बंगलादेशी नागरिकहरुलाइ पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बरिसालका ३७ वर्षीय एमडी मोसिउर, हरिसिद्धि ललितपुरमा बस्दै आएका ३८ वर्षीय बंगलादेशी सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम, हाडीगाउँमा बस्ने २१ वर्षीया तहमिना बेगम हुन् । सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुलीकी ३३ वर्षीया रोशनी राई पनि प्रहरी नियन्त्रणमा छिन् ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
टिप्पणीहरू