भारतीय कारमा गाँजा ओसारपसार
लागुऔषध ओसारपसार र कारोबार गरेका तीन जनालाई मकवानपुर प्रहरीले पक्रेको छ । उक्त कार्यमा संलग्न भारतीय नम्बर प्लेटको कारलाई समेत नियन्त्रणमा लिइएको जनाइएकोे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले आज बिहान १० बजेको समयमा हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेस्थित चेकपोष्टमा उक्त कारमा गाँजा फेला परेको बताएका छन् । चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बीआरजिरो १ बीए २०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा १७ किलो ५ सय ग्राम गाँजा फेला परेको हो ।
सिटमुनि फल्स बटम बनाएर गाँजा ओसारपसार गरेको अभियोगमा कार चालक भारतीय नागरिक २४ वर्षे नितेशकुमार र कारमा रहेका अर्का भारतीय २३ वर्षे रितेश कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले मनहरी गाउँपालिका ५ बाट १५० ट्याब्लेट लागूऔषध र एक किलोग्राम लागुऔषधको धूलोसहित स्थानीय रामसिंह वाइबालाई पक्रेको छ ।
हेटौँडा १५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ८ ख ७३४६ नम्बरको बसबाट पाँच किलो गाँजा फेला पारेको जनाइएको छ । गाँजासँगै मकवानपुरको राक्सिराङ गाउँपालिका ४ की एक महिलालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
टिप्पणीहरू