प्रधानमन्त्री हुन पार्टी अध्यक्ष नै हुनुपर्छ र ?

प्रधानमन्त्री हुन पार्टी अध्यक्ष नै हुनुपर्छ र ?
सुन्नुहोस्

भारतीय जनता पार्टीभित्र नेताहरूबीच आपसी प्रतिस्पर्धा नहुने र हैसियत अनि कामका आधारमा जिम्मेवारी दिइने चलन भएकाले दलको अध्यक्ष नभए पनि प्रधानमन्त्री बन्न पाइने र प्रधानमन्त्री भए पनि पार्टी अध्यक्ष बनिरहन नपर्ने चलन छ । यही कारण राजनाथ सिंह, अमित शाह र जे.पी. नड्डाहरू प्रधानमन्त्री भएका छैनन् । हाम्रो नेपालमा भने प्रधानमन्त्री हुनलाई दलको अध्यक्ष हुनैपर्ने र अध्यक्षले मात्रै बन्न पाउने चलनकै कारण जसरी पनि दुईटा पद प्राप्तिको होडबाजीमा पार्टीभित्र गुटबन्दीलगायत विकृति मौलाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट हालै भारत भ्रमणमा गएका प्रतिनिधिहरूले अनुभव गरेका छन् । 

नरेन्द्र मोदी भारतीय जनता पार्टीको अध्यक्ष होइनन् तापनि उनी दुई–दुई पटक प्रधानमन्त्री भैसके । यसबीच दिल्लीस्थित भाजपा मुख्यालयमा भेटघाट सकेर माओवादी केन्द्रका नेताहरू फर्केलगत्तै यता प्रधानमन्त्री प्रचण्डलाई समकक्षीको फोन आएको छ । उनीहरूले दुई देशबीच प्रकृति र पूर्वजहरूले नै बनाएको सम्बन्ध हो, तसर्थ हामीले सानोतिनो कुरामा अल्झिएर सम्बन्ध बिगार्न हुन्न भन्दै बरु एक अर्कालाई सहयोग र आत्मीयता बढाउने काम गर्नुपर्ने बताएका थिए । बिजेपीका नेताहरूले नेपाललाई विकासका क्षेत्रमा सहयोग गर्न सकिने बताए पनि सम्झौता भएर अड्किएका विकास निर्माणका अनेकन परियोजना जस्तै : महाकाली पञ्चेश्वरको डिपिआर, लुम्बिनी र पोखराको अन्तर्राष्ट्रिय हवाई रुट, जनकपुर–अयोध्या सर्किटलगायत धेरै परियोजना भने किन सुचारु भएनन् भन्ने विषयमा उच्चारणै गरेनन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणताका भएका छलफलले सत्तारुढ दल भारतीय जनता पार्टीभित्र कत्तिको महत्व राख्छ भन्ने विषयमा पनि सो भ्रमण दलले चासो राखेको थियो । उपाध्यक्ष पम्फा भुषालकोे नेतृत्वमा ६ सदस्यीय टोली भारत गएको थियो । टोलीलाई भाजपाले उत्तराखण्ड राज्यको भ्रमण गरायो । पश्चिम नेपालसँग सीमा जोडिएको उत्तराखण्ड सन् १८१६ को सुगौली सन्धिपछि हामीले गुमाएको भूभाग हो भने त्यहाँ अझै पनि नेपाली बहुल र नेपालप्रति माया गर्नेहरूको लाखौंमा उपस्थिति छ । टोलीलाई उत्तराखण्डको साँस्कृतिक पहिरनमा बाजागाजा बजाउँदै फूलको वर्षासहित स्वागत गरिएको थियो भने भारतीय सेनामा कार्यरत नेपाली र भारतीय नेपालीहरूले आत्मीयता दर्शाएका थिए । स्मरणीय छ, भारतका एकमात्र पूर्व पाँचतारे जर्नेल स्व. विपिन रावत र अहिलेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उत्तराखण्डकै हुन् । 

नेपाली टोलीले भाजपा अध्यक्ष जे.पी. नड्डा, उपाध्यक्ष तारिक मन्सुर, महिला अध्यक्ष बानाथी श्रीनिवासन, युवा अध्यक्ष तेजस्वी सूर्यश्रीसँग भेटघाट गरेको थियो भने विदेश विभाग प्रमुख विजय चौथाइवालेले त एयरपोर्टमा स्वागतदेखि बिदाइसम्ममा साथ दिएका थिए । त्यसैगरी महेन्द्र भट्ट, मुख्यमन्त्री पुष्करसिंह धामीले स्वागत गरेका थिए । नेपाली टोलीलाई ऋषिकेश र बाँदरझुलासमेत लगिएको थियो ।

नेपाली टोलीसामु ‘भाजपालाई चिन्नुहोस्’ भन्ने अभियानबारे बताइएको थियो । टोलीका एक सदस्यका अनुसार ग्रासरुट तहसम्म भाजपाले काम गर्ने शैली देख्दा नेपालका कम्युनिष्ट पार्टीहरूले चाहिँ त्यस्तो माइक्रो म्यानेज्मेन्ट सिक्नै पर्ने अनुभूति भयो । पार्टीभित्र तहगत जिम्मेवारी पुरा गर्ने र एक अर्कालाई प्रतिस्पर्धी नठान्ने व्यवहारलाई नेपाली टोलीले सिक्न लायक ठानेको थियो । उत्तराखण्डमा पशुपालक किसानलाई ७० रूपैयाँ प्रतिकिलो मूल्य पर्ने दाना प्रतिकेजी ३ रूपैयाँमा उपलब्ध गराइन्छ । दाना लागेको हरियो बोटसहितको मकैलाई मेसिनले पेल्ने र विभिन्न पौष्टिक वस्तु मिसाएर पशुको दाना तयार गर्ने प्रणाली अपनाइएको छ । भाजपा नेताहरूले नेपाल आएर पशुपतिनाथको दर्शन गर्ने इच्छा पोखेका छन् ।

टिप्पणीहरू