पोर्चुगलको सपना देखाउँदै ४० लाख झ्वाम्

पोर्चुगलको सपना देखाउँदै ४० लाख झ्वाम्
सुन्नुहोस्

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने प्रलोभनका साथ सर्वसाधारण ठग्दै हिँडेका एक जना समातिएका छन् । आकर्षक तलबको आश्वासनमा ठगी धन्दा चलाइरहेका उमेश सेती सुरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाम घर भई सिनामंगल बस्दै आएका उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो दिउँसो बौद्धबाट पक्राउ गरेको हो । ३१ वर्षीय उमेशले वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने विश्वास दिलाएर रकम ठगी गरेको उजुरी परेको थियो । 

पोर्चुगल जान प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितहरुबाट पटक–पटक गरेर ३९ लाख उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा खोजतलास अघि बढाएको प्रहरीले उनलाई फेला पारेको हो । थप अनुसन्धानका लागि विभागमा बुझाइएको छ ।

टिप्पणीहरू