गोली र बन्दूकको मिलन
लुम्बिनी विकास कोषमा कमरेड ल्हारक्याल लामाको नियुक्तिले ठूलै हलचल मच्चाइदिएको छ । (भन्न त ल्हारक्याल लामालाई भिक्षु भनिन्छ । तर अहिले जुन रफ्तारका साथ उहाँको नियुक्ति भयो, यो हेर्दा उहाँलाई भिक्षु ल्हारक्याल लामा भन्दा पनि ‘कमरेड ल्हारक्याल लामा’ भन्दा उचित लाग्छ ।) यो नियुक्तिलाई लिएर ठूलै विवाद भइरहेको छ । यति विवादका बीच पनि कमरेड प्रचण्डले उहाँलाई नियुक्ति दिएरै छोड्नुभयो । यो देखेर कसै कसैले त यस्तो पनि सोचेका छन् कि ल्हारक्याल लामा प्रचण्डको आफ्नै कुनै दाजुभाइ त होइन ? आफ्नै नभए मामाको छोरा वा काकाको छोरा पो हो कि ! किनभने प्रचण्डको पछिल्लो कदम माओवादलाई छोडेर नातावादतिर उन्मुख भइरहेको छ ।
यसैबीच केहीले पुरानो कुरा कोट्याउँदै यसो पनि भनेको सुनियो– ल्हारक्याल लामाको बैंक लकरमा गोली भेटिएको थियो । लकरमा गोली राख्ने मान्छेलाई लुम्बिनी जस्तो ठाउँमा पठाउनु हुन्छ ?
लकरमा गोली भेटिनुलाई मानिसहरूले आ–आफ्नै हिसाबले व्याख्या गर्लान् । तर मेरो व्याख्याचाहिँ के हो भने ल्हारक्याल लामा अहिले लुम्बिनी विकास कोषमा नियुक्त हुन पाउनुको प्रमुख आधार भनेकै उहाँको लकरमा गोली भेटिनु हो । सबैलाई थाहा छ– माओवादी बन्दूकमा विश्वास गर्ने पार्टी हो । त्यही भएर ऊ बन्दूक बोक्न रुचाउँछ । प्रचण्ड बन्दूकमा विश्वास गर्छन्, ल्हारक्याल गोलीमा विश्वास गर्छन् । प्रचण्डसँग बन्दूक छ, ल्हारक्यालसँग गोली छ । बन्दूक र गोली मिलेपछि न पड्काउन मिल्ने हो ! बन्दूक पड्काउन गोली चाहिन्छ, गोली चलाउन बन्दूक चाहिन्छ । एक बिना अर्को त अधुरो हुन्छ । अहिले भएको ल्हारक्यालको नियुक्ति यही बन्दूक र गोलीको मिलन हो । वास्तवमा लकरमा गोली भेटिएपछि नै प्रचण्डलाई विश्वास भएको थियो कि कमरेड ल्हारक्याल त आफ्नै मान्छे पो रहेछन् । गोली भेटिनु अघिसम्म ल्हारक्याल एमालेको मान्छे थिए । गोली भेटिएपछि प्रचण्डको मान्छे भए । किनभने गोलीको मूल्य त बन्दूकलाई थाहा हुन्छ, गुलेलीलाई थोडै थाहा हुन्छ !
अतः अहिलेको नियुक्ति जो छ, त्यो मूलतः बन्दूक बोक्ने मान्छेले गोली बोक्ने मान्छेलाई दिएको नियुक्ति हो । अब हेर्नु यो छ, लुम्बिनीको बुद्ध जन्मस्थलमा बन्दूक र गोली मिलेर कस्तो पटाका पड्काउने हो । भवतु सब्ब मंगलम !
टिप्पणीहरू