खाजा र युवतीको बहानामा ‘हनी ट्याप’, धम्कीपछि ४० लाख

खाजा र युवतीको बहानामा ‘हनी ट्याप’, धम्कीपछि ४० लाख
सुन्नुहोस्

राजधानीमा खाजा खाने र युवती भेटाइदिने बहानामा पुरुषलाई ‘हनी ट्याप’मा पारिएको पछिल्लो घटना सार्वजनिक भएको छ । योजनाबद्ध तवरले उक्त हर्कत गर्दै आएको आरोपमा एक महिला र एक जना पुरुष पक्राउ परेका छन् ।

युवतीका विभिन्न समूहलाई सामाजिक सञ्जालमा परिचालन गर्ने, फोनआदान–प्रदान गरेर पुरुषहरुसँग सम्पर्क तथा समन्वय गराउने कार्यमा सिन्धुलीकी आसिका रजल मगर र दोलखाका राजु खत्रीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुले युवतीसँग खाजा खाँदै भेट गरेको अवस्थामा त्यस्ता पुरुषलाई धम्काउने, मुद्दाको डर देखाउने र प्रहरी बोलाउने बताउँदै रकम असुलेका हुन् । आसिका र राजुले ४० लाख लेखिएका आठ थान चेक लिएको देखिन आएको छ । उनीहरुले पीडितको विवरण टिपोट गर्ने, सवारी साधन नम्बरदेखि मोबाइल र समयसमेत उल्लेख गरेर डायरीमा लेखेको विवरण प्रहरीले प्राप्त गरेको छ ।

उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ । त्यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू