फेसबुक आइडी ह्याकपछि साढे १४ लाख ठग्ने गिरोह पक्राउ

फेसबुक आइडी ह्याकपछि साढे १४ लाख ठग्ने गिरोह पक्राउ
सुन्नुहोस्

फेसबुक आइडी ह्याक गरेर रकम ठग्दै आएका पाँच जनाको गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेकामा काठमाडौंको नयाँ बसपार्क बस्दै बाराका सिमान्त लामा, अमन्त लामा, शुभेक्षा गुरुङ, अनुप श्रेष्ठ र रोहन तामाङ हुन् । उनीहरु नयाँ बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसमा कोठा भाडामा लिएर बस्दै आएका थिए । 

पाँचै जनाले विभिन्न व्यक्तिको फेसबुक आइडी ह्याक गरेर तिनका साथीहरुलाई म्यासेजबाट इसेवा, खल्तीजस्ता वालेटमा रकम जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । 

उनीहरुले हालसम्म ३० वटा फेसबुक आइडी ह्याक गरेको, विभिन्न व्यक्तिको १२ वटा इमेल आइडी प्रयोग गरेको र विभिन्न बहानामा ओटीपी कोडहरु माग्ने गरेको पाइएको छ । 

हालसम्म २२ जना पीडित सम्पर्कमा आएको र १४ लाख ५८ हजार रुपैयाँ ठगेको बुझिएको छ । पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू