१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, छ महिनाको गर्भपछि घटना सार्वजनिक
डोल्पामा १५ वर्षीया बालिकामाथि नौ जनाले सामूहिक बलात्कार गरेको तथ्य छ महिनापछि खुलेको छ । बालिका गर्भवती भएको थाहा पाएपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको बताइन्छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका ६ मा भएको उक्त घटनामा संलग्न नौ जनामध्ये तीन जना पक्राउ परेका छन् । बाँकी छ जना फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय माझगाउँका २९ वर्षीय धर्मराज बोहोरा, सल्यानको कुमाख गाउँपालिका–५ कालागाउँका २२ वर्षे रेशम राना र जाजरकोटको कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
स्थानीय भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकालाई गत माघ र फागुनमा नौ जनाले पटक पटक बलात्कार गरेको बताइन्छ । उनीहरु विरुद्ध साउन २६ गते पीडित बालिकाको परिवारले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
फरारविरुद्ध जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गर्न अदालतले १५ दिनको म्याद दिएको छ ।
गर्भवती नाबालिकाका आमा–बुबा फरक क्षमताका छन् भने परिवारको आर्थिक अवस्था निकै कमजोर छ । त्यसैले बालिकालाई हेरचाह केन्द्रले संरक्षण गर्ने जनाइएको छ ।
टिप्पणीहरू