रसुवागढी नाकाबाट आएका दुई जनाको खल्तीमा सुनको बिस्कुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ किलो सुन बाहिरिएको घटनाले मुलुकको राजनीति गर्माइरहेका बेला उत्तरी नाका रसुवागढीबाट भित्रिएको दुई किलो सुन प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध सुनसहित दुईजना समातिएका छन् ।
हिजो साँझ रसुवागढी नाका नजिकै टिमुरेबाट स्याफ्रुबेशीतर्फ आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त परिमाणको सुन फेला परेको हो । सिन्धुपाल्चोकको भोटेकोशी–५ का २१ वर्षे सुदिप शेर्पा र सोही ठाउँका ३० बर्षे फुर्साङवु शेर्पा सुनसहित समातिएका छन् ।
स्याफ्रुबेशी प्रहरी चौकीबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरुको साथमा सुन भेटेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्माले जानकारी दिए ।
सुदीपले लगाएको टी–शर्टभित्र कालो चेष्टगार्डको खल्तीमा बिस्कुट आकारका दुई थान पहेंलो धातु फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे बस्ने फुर्साङवुले उक्त सुन सुदिपलाई दिएको खुल्न आएको छ । थप अनुसन्धानका लागि बरामद सुनसहित दुबै जनालाई राजश्व अनुसन्धान विभागमा बुझाइएको इन्स्पेक्टर शर्माले जानकारी दिए ।
टिप्पणीहरू