पूर्वगृहमन्त्री बालकृष्ण खाँणका अंगरक्षक बेलायतमा प्रकट

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका अंगरक्षक  बेलायतमा प्रकट

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पुर्पक्षको निम्ति सुन्धारा कारागारमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणका तत्कालीन अंगरक्षक बेलायतमा देखा परेका छन् । नेपाल प्रहरीका असई तेजबहादुर सिलवाल एकाएक बेलायतको राजधानी लण्डन पुगेका हुन् । 

खाण पक्राउ परेपछि सिलवालले सामाजिक सञ्जालमा कुनै पनि सामाग्री पोष्ट नगरेकाले उनको पछिल्लो स्थितिबारे थोरैलाई मात्र जानकारी हुने गरेको थियो । अग्ला कदका सिलवाल टिकटकमा निकै रमाउँथे । दिनहुँ नाचगान गरेको भिडियो बनाएर टिकटकमा हाल्ने उनी अहिले ती सबै काम बन्द गरेर बेलायत पुगेका हुुन् ।

खाण अघिल्लो पटक शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारीमा रहँदासमेत सिलवाल अंगरक्षकको भूमिकामा थिए । उनले पोखरामा रहँदा स्थानीय व्यापारी, ठेकेदार र टोले डनसँग निकै हिमचिम बढाउँदै धेरै वटा काम ‘फत्ते’ गराएको आरोप प्रहरी संगठनभित्रैकाले लगाएका थिए । दुई वर्षअघि एमाले नेतृत्वको सरकार ढलेर एकाएक खाण गृहमन्त्री बनेपछि ‘अब काठमाडौं गइन्छ, एसपीलाई ठीक पारिन्छ’ भन्दै उनी सरुवा मिलाएर राजधानी आएका थिए । 

अहिले उनै सिलवाल बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि बेलायत पुगेका हुन् ।

टिप्पणीहरू