सर्बियाको प्रलोभन देखाउँदै सर्वसाधारणमाथि ठगी

सर्बियाको प्रलोभन देखाउँदै सर्वसाधारणमाथि ठगी

वैदेशिक रोजगारीको निम्ति सर्बिया पठाइदिने नाममा ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्दै हिँडेका सुमन बुढाथोकी र छबिलाल अधिकारी समातिएका हुन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो । सर्लाही घर भई हाल भक्तपुरको दधिकोट बस्दै आएका २७ वर्षे सुमन र इलाम घर भई हाल काठमाडौं बस्दै आएका ३० वर्षे छबिलालले वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने आश्वासन दिएको बताइन्छ ।

सर्बिया पुग्न प्रतिव्यक्ति साढे छ लाख लाग्ने र मासिक ५० हजारभन्दा बढी तलब हुने बताउँदै पीडितबाट पटक पटक गरेर डेढ लाख रुपैयाँ उठाएपछि उनीहरु सम्पर्कविहीन भएका थिए । पीडितले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले आज पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू