इटालीमा रोजगारीको प्रलोभन, चार लाख झ्वाम

इटालीमा रोजगारीको प्रलोभन, चार लाख झ्वाम

वैदेशिक रोजगारीमा इटाली पठाइदिने भन्दै ठगी धन्दा चलाउँदै आएका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्दै हिँडेका विष्णु रिषी पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो । कालिकोट घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ५२ वर्षीय विष्णुले वैदेशिक रोजगारीमा इटाली पठाइदिने प्रलोभन देखाएका थिए । त्यहाँको पेट्रोल पम्पमा काम लगाइदिने भन्दै सर्वसाधारणसँग मोटो रकम असुलेको तथ्य खुलेको छ ।

इटाली जान प्रतिव्यक्ति आठ लाख लाग्ने र मासिक एक लाखभन्दा बढीको तलब हुने फोस्रो आश्वासन बाँडेका थिए । पीडितबाट चार लाख २५ हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका हुन् । 

पीडितले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास गर्ने क्रममा हिजो पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू