विदेश पठाइदिने नाममा सर्वसाधारण ठग्ने क्रम बढ्दो

विदेश पठाइदिने नाममा सर्वसाधारण ठग्ने क्रम बढ्दो
सुन्नुहोस्

पछिल्लो समय वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने क्रम बढ्दो छ । 

आकर्षक तलब सुविधासहित विदेश पुर्याइदिने प्रलोभनमा सर्वसाधारणलाई ठग्ने दलालहरुको बिगबिगी बढिरहेको बेलामा प्रहरीले सोही आरोपमा तीन जनालाई पक्रेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दलालहरु जगतबहादुर खड्का, तारा गुरुङ र शर्मिला सुनुवारलाई नियन्त्रणमा लिएको हो । 

सल्यान घर भई हाल भक्तपुरको सूर्यविनायक बस्दै आएका ५१ वर्षीय जगतले वैदेशिक रोजगारीमा कुवेत पठाइदिने र त्यहाँ पुगेपछि बाइक राइडरको काम लगाइदिने नाममा रकम ठगी गरेको खुलेको छ । कुवेत जान प्रतिव्यक्ति दुई लाख लाग्ने र मासिक ५० हजारभन्दा बढी तलब हुने लोभ देखाएर पीडितबाट पटक–पटक गरी एक लाख ९४ हजार रुपैयाँ उठाएपछि उनी फरार भएका थिए । 

यस्तै, कास्की घर भई हाल ललितपुरको नख्खिपोट बस्दै आएकी ४० वर्षीया ताराले पनि आकर्षक तलबमा नेदरल्याण्ड पठाइदिने नाममा तीन लाख ४५ हजार रुपैयाँ ठगेको पुष्टि भएको छ । रामेछापकी तर हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८, गोठाटार बस्ने ३५ वर्षीया शर्मिलाले वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने र त्यहाँ पुगेपछि मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभन दिएकी थिइन् । 

फुङ प्याकिङमा काम लगाइदिने आश्वासन बाँड्दै पीडितबाट पटक पटक गरेर दुई लाख रुपैयाँ उठाएपछि उनी पनि सम्पर्कविहीन भएकी हुन् । आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभागमा बुझाइएको छ ।

टिप्पणीहरू