डाक्टरलाई कुवेत पठाइदिने सूचना भ्रमपूर्ण, दुई मेनपावर कम्पनी निलम्बित

डाक्टरलाई कुवेत पठाइदिने सूचना भ्रमपूर्ण, दुई मेनपावर कम्पनी निलम्बित

वैदेशिक रोजगार विभागले दुईवटा मेनपावर कम्पनीको ईजाजतपत्र (लाइसेन्स) निलम्बन गरेको छ । 

पूर्व स्वीकृतिबिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै भ्रमपूर्ण सूचना प्रसारण गरेकोमा विभागले ती मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरिदिएको जनाएको छ । 

विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीका अनुसार ओमेगा इन्टरनेसनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमान रिसोर्स) मेनपावर कम्पनीको ईजाजतपत्र निलम्बन गरिएको हो । 

विभाग विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेशनल (ईजाजतपत्र नं.१३५२÷०७४÷०७५) र आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देशपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगत रुपमा जनशक्ति वैदेशिक रोजगारीमा पठाउने कार्यमा संलग्न ओक्सन इन्टरनेशनल (ईजाजतपत्रनं.९८९–०६७–०६८) लाई विभागको मिति २०८०–०५–१२ को निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम उल्लिखित दुवै संस्थालाई निलम्बन गरिएको छ ।’

विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्णलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गर्दै प्रचलित ऐन, कानूनको बर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषणलगायतका गतिविधि सञ्चालन नगर्न समेत चेतावनी दिएको छ ।

टिप्पणीहरू