जिल्ला प्रशासनभित्र बिचौलिया च्याप्पै

जिल्ला प्रशासनभित्र बिचौलिया च्याप्पै

जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीसँग अनेक बहानामा रकम धुत्ने दुई जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा बिचौलियाको बिगबिगी बढेपछि प्रहरी प्रशासनको प्रयासमा उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

छिटो छरितो राहदानी वा नागरिकता बनाइदिने प्रलोभनमा उनीहरुले दुर्गम भेगबाट आएका सेवाग्राहीहरुसँग मनग्गे पैसा असुल्दै आएका थिए । सेवाग्राहीहरु बिचौलियाबाट आक्रान्त भएको जनगुनासो बढेपछि प्रहरी प्रशासनले गरेको संयुक्त प्रयासबाट दुईजना दलाललाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का श्याम तामाङ र इन्द्रावती गाउँपालिका वडा नम्बर १ का मिङमार शेर्पालाई रंगेहात पक्राउ गरेको बताइएको छ । उनीहरुले राहदानीको फारम तत्काल भर्ने, फोटो खिचाउने र चाँडै राहदानी उपलव्ध गराइदिने प्रलोभन दिने गरेका थिए । 

बिचौलियाहरुले सेवाग्राहीलाई दुुःख दिनुका साथै अनाधिकृतरुपमा रकम असुलेको जनगुनासोका आधारमा अनुसन्धान गरिएको प्रशासनको भनाई छ । त्यसपछि तामाङ र शेर्पा पक्राउ परेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए ।

सेवाग्राही ठगी धन्दामा बिचौलियाहरु मात्र नभई प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतो भएको स्थानीयहरुको आरोप छ । छिटोछरितो काम सम्पन्न गरिदिने नाममा कार्यालयका कर्मचारीको नाममा पैसा असुल गरेको गुनासो कार्यालयमा आएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । यसबारे पनि आन्तरिक अनुसन्धान गरिएको उनको दाबी छ ।

छिटोछरितो रुपमा फोटो खिचाउने र राहदानी उपलब्ध गराउने भन्दै बिचौलियाले पाँचदेखि १० हजारसम्म असुल्ने गरेको पाइएको छ । कतिपय बिचौलियाले प्रशासन कार्यालयमा राहदानी प्रक्रिया सम्पन्न गरिसकेपछि पनि राहदानी लिन आउन नपर्ने, घरमा नै पठाइदिने आश्वासन दिएर सेवाग्राहीसँग कम्तीमा दुई हजार असुल्दै आएको पाइएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीको नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीको काम एकै दिनमा सम्पन्न हुने व्यवस्था मिलाएकाले बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

टिप्पणीहरू