नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सप्तरीको बोदेबसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल, पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, नगरकार्यपालिका सदस्य श्रीप्रसाद भगतविरुद्ध मुद्दा दायर गरेको हो । 

यस्तै, वडा नम्बर ४ का वडाध्यक्ष रामानन्द चौधरी, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीस्थित माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । 

तर, नक्कली बिल भरपाई बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ सरकारी रकम हिनामिना गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू