भारतीय कारमा भेटियो आधा करोड रुपैयाँ

भारतीय कारमा भेटियो आधा करोड रुपैयाँ

सिरहामा स्रोत नखुलेको झण्डै आधा करोड रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । घटना हिजो साँझको हो । तीब्र गतिमा हुईंकिएर आएको भारतीय नम्बर प्लेट बी.आर. ७ अ ४२२४ को हुन्डाई स्यान्ट्रोलाई प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको ४४ लाख रूपैयाँ फेला परेको बताइएको छ ।

उक्त रकम चालक छेउको अगाडिको सिटमुनि कालो पोलेथिनको झोलामा  लुकाएर ल्याइएको थियो । गोप्य सूचनाको आधारमा प्रहरीले कार खनतलासी गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द ईवा लिम्बुका अनुसार स्रोत नखुलेको रकम बोकेर उक्त कार भारतको जयनगरबाट नेपाल भित्रिएको हो । सिरहा नगरपालिका– १७ माडर, कालिचोकस्थित प्रहरी चौकी खिरौनाका प्रहरी निरीक्षक दुर्गाप्रसाद यादव र इलाका प्रहरी कार्यालय माडरमा कार्यरत प्रहरी नायव निरीक्षक अमितकुमार रायको कमाण्डमा गएको संयुक्त टोलीले कार र त्यसभित्र रहेको रकम नियन्त्रणमा लिएको थियो ।

कारमा सवार सिरहा नगरपालिका ७, हेमनारायण चोक निवासी ४२ वर्षीय सञ्जयकुमार साह र कार चालक स्थानीय १७ नम्बर वडा माडर निवासी ५२ वर्षीय प्रेमकुमार यादवलाई प्रहरीले नियन्त्रमा लिएको छ । 
एसपी लिम्बुले आज बिहान जनआस्थासँग भने, ‘रकमसहित पक्राउ परेका दुवैमाथि थप अनुसन्धान तथा कारबाही राजश्व अनुसन्धान कार्यालय इटहरीले गर्नेछ ।’

टिप्पणीहरू