नाबालिग बलात्कारमा प्रिन्सिपल पक्राउ,पीडितमाथि ४० लाखको प्रलोभन र हनी ट्र्यापको पासो

नाबालिग बलात्कारमा प्रिन्सिपल पक्राउ,पीडितमाथि ४० लाखको प्रलोभन र हनी ट्र्यापको पासो

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नरेफाँटस्थित नेपाल सेन्ट्रल हाईस्कूलका प्रिन्सिपल सूर्यबहादुर भण्डारीलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ । इलाम नगरपालिका–९ स्थायी घर भएका ५२ वर्षीय भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन काठमाडौंंका उपाध्यक्ष समेत हुन् । उनलाई अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । 

यस्तो छ घटना  

फेसबुकमा चिनजानपछि सामान्य कुराकानी गर्न थालेका उनीहरु घनिष्ट भएका थिए । आफू विभिन्न संघ संस्थामा आवध्द रहेको, नरेफाँटमा आफैंले एउटा निजी विद्यालय सञ्चालन गरिरहेको र बीउविजन तथा पशुपंक्षीसम्बन्धी अर्को कम्पनीको समेत प्रबन्ध निर्देशक रहेको बताए । धेरै वटा कार्यालय र कम्पनी भएकाले आफ्नै एउटा कम्पनीमा जागिर लगाइदिने लोभसमेत देखाए । 

प्रलोभनमा पारेपछि भण्डारी किशोरीसँग अस्वाभाविक तरिकाले नजिकिए । एक दिन भेटेर सँगै खाजा खाने प्रस्ताव राखे । फेसबुकमा नियमित कुराकानी र भिडियो कल हुने भएकाले किशोरीले पनि भण्डारीको खाजा खाने प्रस्तावमा सहमति जनाइन् । एक दिन जडिबुटीमा भेटेर उनी भण्डारीकै सवारी साधनमा भक्तपुरको पलाँसे पुगिन् । 

"छोरीलाई विभिन्न प्रलोभनमा बलात्कार गरेपछि उल्टै जेलमा कोचेको रहस्य खुलेलगत्तै किशोरीका बुबाआमाले भण्डारीविरुध्द प्रहरीमा उजुरी दर्ताको प्रयास गरे ।"

स्थानीय रिसोर्टमा खाजा खाएपछि भण्डारीले ती किशोरीसँग बाहिर खुल्ला ठाउँमा बसेर जागिरको कुराकानी गरे । कम्पनीका कतिपय नीतिगत विषयहरु गोप्य नरहने भन्दै रिसोर्टकै एउटा कोठा बुक गरे र किशोरीलाई लिएर कोठामा गए । 

कोठाभित्र पसेपछि भण्डारीले किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । किशोरी रिसोर्टबाट भागिन् र भोलिपल्ट एक जना आफन्तलाई घटनाबारे बेलिबस्तार लगाइन् ।

रकम कलममा घटना सामसुमको प्रयास  

घटनाबारे आफन्तलाई बताइसकेको र कानुनी परामर्शपश्चात आफूविरुध्द जबरजस्ती करणीको मुद्दा दर्ता गर्न लागेको सुईंको पाएका भण्डारीले तत्काल मध्यस्थकर्तामार्फत् खबर पठाउँदै आफन्तको उपस्थितिमा भेट्ने प्रस्ताव राखे । भण्डारीकै आग्रहमा किशोरीले आफन्तको रोहवरमा भेटिन् । सोही क्रममा किशोरीलाई घटनाबारे थप नबताउने र त्यसबापत ४० लाख रुपैयाँ दिने प्रस्ताव अघि सारियो । भण्डारीको उक्त प्रस्तावमा किशोरी सहमत भइन् । दुई महिनापछिको मिति राखेर भण्डारीले दिएको ४० लाख रुपैयाँको चेक बुझेर फर्किइन् ।

हनिट्र्यापको नाटक,उल्टै किशोरी जेलमा

राजनीतिक पहुँच भएका र प्रहरीको उपल्लो तहमा निकटको हिमचिम रहेका भण्डारी ४० लाख रुपैयाँ जोगाउने र बलात्कारको अभियोगबाट जोगिने उपायको खोजीमा लागे । पैसाको आडमा किशोरी बलात्कारको घटना सामसुम पार्न खोजेका उनले घटनाका बारेमा आफ्ना निकट साथीहरुलाई ब्रिफिङ गरेको देखिन आएको छ । त्यही सल्लाहपछि हनिट्र्यापको नाटक रचेर उल्टै किशोरीलाई जेल कोच्ने योजना बुनिएको बताइन्छ । 

सोही योजनाअनुसार भण्डारी किशोरीलाई चेक दिएपछिको अर्को साता आफ्नो बैंकमा गए । आफूले दस्तखत गरेर दिएका सम्पूर्ण चेक रोक्का गराए । त्यहाँबाट सरासर प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कार्यालय बानेश्वर पुगे । किशोरीले आफूलाई हनिट्र्यापमा पारेर फिरौती बापत ४० लाख रुपैयाँ लिएको उजुरी पनि दर्ता गराए । 

उनको उजुरीका आधारमा अपराध अनुसन्धान महाशाखाले चेक नम्बर समेत उल्लेख गरेर बैंकलाई उक्त चेक लिएर आउने व्यक्तिबारे खबर गर्न पत्र लेख्यो । दुई महिना पछिको मिति लेखिएको चेक बुझेर भण्डारीको कर्तुतलाई माफी दिएकी किशोरी लेखिएको मितिमा चेक साट्न बैंक पुगिन् । त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेर हनिट्र्यापमा पार्दै अनुचित लाभ लिन खोजेको आरोपमा जेल चलान गरेको हो ।
   
...र यसरी पक्राउ परे भण्डारी 

आफू बलात्कृत भएर उल्टै जेल जानुपरेपछि किशोरीलाई पीडामाथि थप पीडा भयो । प्रहरीले पक्राउ गरेपछि घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई बेलिबिस्तार लगाइन् । छोरीलाई विभिन्न प्रलोभनमा बलात्कार गरेपछि उल्टै जेलमा कोचेको रहस्य खुलेलगत्तै किशोरीका बुबाआमाले भण्डारीविरुध्द प्रहरीमा उजुरी दर्ताको प्रयास गरे । भण्डारीले रचेको हनीट्र्यापको कथामा आधारित भएर अनुसन्धान गरिरहेको प्रहरीले किशोरीका अविभावकले दिएको उजुरी दर्ता गर्न मानेन । 

राजनीतिक प्रभाव र दबाबका कारण भण्डारीविरुध्द बलात्कारको मुद्दा दर्ता गर्न प्रहरीले नमानेपछि किशोरीका अभिभावकले जिल्ला सरकारी वकिलको कार्यालय गुहारेका हुन् । त्यसपछि कार्यालयले भण्डारीलाई पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन दियो । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेपछि भन्न थालिएको छ, ‘पाप धुरीबाट कराउँछ भनेझैं कर्तुत ढाकछोप गर्न उल्टै पीडितलाई जेलमा पुर्याएका भण्डारी अन्ततः आफैं जेल परे ।’

टिप्पणीहरू