अष्ट्रेलियाको सपना देखाउँदै काठमाडौंमा नौ लाख लुटियो

अष्ट्रेलियाको सपना देखाउँदै काठमाडौंमा नौ लाख लुटियो
सुन्नुहोस्

वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिने नाममा ठग्दै आएकी एक महिला पक्राउ परेकी छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारण ठगेकी रत्नकेशरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौंको सामाखुशीमा बस्दै आएकी श्रेष्ठले वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई पारेकी थिइन् ।

अष्ट्रेलिया जान प्रतिव्यक्ति २० लाख लाग्ने र मासिक तीन लाखभन्दा बढी तलब हुने आश्वासनमा पीडितबाट पटक पटक गरी नौ लाख उठाएपछि उनी सम्पर्कविहीन भएको बताइन्छ ।

पीडितले वैदेशिक रोजगार विभाग गुहारेपछि आज उनी पक्राउ परेकी हुन् । थप अनुसन्धान तथा कारबाहीका निम्ति श्रेष्ठलाई विभागमा पठाइएको छ ।

टिप्पणीहरू