मानव बेचबिखनमा संलग्न नेपाली मूलका अमेरिकी पक्राउ

मानव बेचबिखनमा संलग्न नेपाली मूलका अमेरिकी पक्राउ

अमेरिका पठाइदिने भन्दै मानव बेचबिखन गर्दै आएको गिरोहका नाइके पक्राउ परेका छन् । पूर्वी रुकुम घर भई हाल अमेरिकाको टेक्सासमा रहेका अमेरिकी नागरिकता लिएका ५२ वर्षीय मुदुल भन्ने हस्त गौतम समातिएका छन् । 

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

गौतमले विभिन्न प्रलोभन देखाउँदै अमेरिका पठाउने नाममा नेपाली नागरिकलाई युएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत मुलुक पुर्याएका थिए । त्यहाँ पुर्याएपछि उनीहरुको राहदानी, मोबाइल समेत जफत गरी ठूलो परिमाणमा रकम माग गर्ने, भनेजति पैसा नदिए शारिरिक र मानसिक यातना दिने र अन्तिममा बेचबिखन गरेर अलपत्र पार्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।

गौतमले पर्यटक भिसाको चरम दुरुपयोग गर्दै हालसम्म दुई सय जना नेपाली नागरिकलाई अमेरिका पठाइसकेको, दुई करोडभन्दा बढी रकम ठगेको र १२ जना नेपालीलाई अमेरिका पठाइदिने आश्वासनमा विभिन्न मुलुकमा पठाएर अलपत्र पारेको खुल्न आएको छ । 

ब्यूरोका अनुसार गौतमविरुद्ध पाँच वटा मुद्दा दर्ता भइसकेको छ । त्यस्तै, दुई जना पीडितको उद्धार कार्य बाँकी रहँदा अन्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । 

उनीविरुद्ध जिल्ला अदालतबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

 

टिप्पणीहरू