बेलायत पुर्याएर यौन शोषण गर्न खोजिएको गायिकाद्वारा खुलासा

बेलायत पुर्याएर यौन शोषण गर्न खोजिएको गायिकाद्वारा खुलासा
सुन्नुहोस्

सांगीतिक कार्यक्रममा सहभागिता जनाउन नेपालबाट बेलायत पुगेकी एक गायिकाले आफूमाथि आयोजक संस्थाका हर्ताकर्ताले होटलमा यौन सम्बन्ध राख्न आग्रह गरेको खुलासा गरेकी छन् । ३१ वर्षीया गायिका सीमा गुरुङ (नानु) ले स्पोन्सर संस्था स्याङ्जा समाजका अध्यक्ष शारदा गुरुङले नाजायज सम्बन्ध राख्न पटक पटक दबाब दिएको फेसबुक लाइभमा बताइन् ।

उनी साढे ३ महिनाअगाडि २८ मेमा बेलायत पुगेकी थिइन् । उनीसँग सांस्कृतिक कार्यक्रममा गएकाहरु ५ सेप्टेम्बरमा नेपाल फर्केका छन् । शारदाले नानुसँग ‘मैले तिमीलाई नेपालबाट ल्याएको के फाइदा ? होटल जाऊँ’ भनेको कुरो उनले बेलायतबाट गरेको फेसबुक लाइभमा उल्लेख छ । गायिका सीमा यसअघि शारदाकी भाञ्जीको घरमा बसेकी थिइन् । बदनियत राखेर आफूसँग गलत सम्बन्धको प्रस्ताव राखिएपछि रातारात भागेर अन्य नातेदारको घरमा बसेको उनले बताइन् । 

‘मलाई डेटचाहिँ  याद भएन । किनभने मलाई मेन्टल्ली टर्चर दिएको थियो । डेट याद गर्न सकिन,’ उनले शारदा गुरुङ्गले राखेको प्रस्ताव र घटनाक्रम उल्लेख गर्ने क्रममा रुँदै भनिन्, ‘मलाई ल्याउनासाथ स्याङ्जा समाज युकेका अध्यक्षले उहाँको भाञ्जीको घरमा राख्नुभयो । म एक हप्ता त्यो घरमा बसेँ । एक हप्तापछि उहाँले मलाई फिजिकल रिलेसनसिपको प्रस्ताव राख्नुभयो । मैले इग्नोर गरेँ । मैले दाइभाइ भनी यत्रो सपना बुनेर आएको । किन यस्तो प्रस्ताव राख्नुहुन्छ ? दाइ, म यो टाइपको मान्छे होइन भन्दै रोएँ ।’

शारदाको जवाफ उल्लेख गर्दै उनले भनिन्, ‘मैले यत्रो खर्चेर युकेसम्म ल्याएँ ।’ गायिकाको जवाफ थियो, ‘सरी,म त्यो टाइपको केटी होइन । मलाई नेपाल फिर्ता पठाइदिनुस् ।’

लण्डनमा भएको पछिल्लो घटनाबाट निहित स्वार्थको निम्ति आयोजक संस्थाका अध्यक्षले एउटी महिलामाथि गिद्दे नजर लगाएको पुष्टि भएको छ । बेलायतमा रहेकी स्याङ्जाली गायिका सीमा गुरुङ (नानु) ले हिजो  भनिन्, ‘सांस्कृतिक कार्यक्रममा स्पोन्सर गरेकै आधारमा विदेश ल्याएर महिलामाथि अनेक कुरा मान्न प्रलोभन र दबाब दिइँदो रहेछ । तर म बेलायतमा लुकेको छैन । नोभेम्बरमा भीसाको अवधि सकिनुअगावै नेपाल फर्कन्छु ।’

यसैबीच गायिकाले यौन सम्बन्ध अस्वीकार गरेपछि आयोजक संस्थाले दिएको उजुरीको आधारमा बेलायतको गृह मन्त्रालय (होम अफिस) ले सीमाको भिजिट भीसा रद्ध गरिदिएको छ । हिजो अबेर होम अफिसले पठाएको पत्रमा नोभेम्बर ११ सम्म कायम रहेको भीसा रद्ध गरिएको उल्लेख छ ।

‘जुन उद्देश्यले बेलायत आएको हो,त्यो उद्देश्य पूरा भए पनि प्राप्त थप जानकारीका आधारमा अर्को गलत उद्देश्यले बसेको पाइएकाले भीसा रद्ध गरिएको छ,’ पत्रमा लेखिएको छ, ‘औषधोपचारको निम्ति बाँकी समय बेलायत बसेको भनिए पनि उक्त उद्देश्य नदेखिएकाले गलत सूचना दिएको आधारमा भीसा रद्ध गरिएको छ ।’

बेलायती गृह मन्त्रालयले सीमालाई दिएको पत्रमा कार्यक्रमको निम्ति बेलायतमा आठ दिन बस्ने भनिए पनि म्याद गुजारेको उल्लेख छ । उनले मे २१ तारिखका दिन बेलायत छिर्ने भनिए पनि २७ तारिखसम्म नआएको र आवेदन गरेको बखत भनिएको कार्यक्रमको समय गुज्रेपछि  मात्र छिरेको  पनि भीसा रध्द गर्ने कारणमा उल्लेख छ । त्यसपछि पनि तीन महिना नौ दिन बेलायत बसिसक्दा समेत नफर्केकाले अब सोही भीसाको आधारमा बेलायतमा बसिरहन नमिल्ने जानकारीसहित उनको भीसा रद्ध गरिएको जानकारी दिइएको छ ।

https://fb.watch/mXMMYUL19Y/

टिप्पणीहरू