वैदेशिक रोजगारीको प्रलोभन दिने, सर्वसाधारण ठग्ने
वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा सर्वसाधारण ठग्दै आएका तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको बहानामा ठग्दै हिँडेका चित्रबहादुर मगर, वीरबहादुर गुरुङ र राजकुमार लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । कैलाली घर भई हाल काठमाडौंको मित्रनगर, नयाँबसपार्क बस्दै आएका २३ वर्षीय चित्रले वैदेशिक रोजगारीमा टर्की पठाइदिने प्रलोभन दिएका थिए । त्यहाँ पुगेपछि होटलमा काम लगाइदिने प्रलोभनमा पीडितसँग पटक पटक गरेर साढे दुई लाख उठाएपछि उनी फरार भएका थिए ।
यता, स्याङ्जा घर भएका र हाल काठमाडौंको सुकेधारा बस्दै आएका ४९ वर्षीय वीरले पनि आकर्षक तलब सुविधासहित वैदेशिक रोजगारीमा फ्रान्स पठाइदिने प्रलोभनमा १४ लाख रुपैयाँ ठगेको बताइन्छ ।
धादिङ घर भई हाल भक्तपुरको थिमी बस्दै आएका ४० वर्षीय राजकुमार पनि वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने नाममा पीडितहरुबाट १७ लाख रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि विभाग पठाइएको छ ।
टिप्पणीहरू