सिरहाको पोखरी विवाद जुनसुकै बेला हिंसा भड्किन सक्ने
-सन्तोष बराइली
सिरहाको दक्षिणी सीमावर्ती क्षेत्र नवराजपुर गाउँपालिकाको पोखरी विवाद पुनः बल्झिएको छ । तत्काल समाधान नखोजिए भित्रभित्रै झाँगिदै गएको विवाद हिंसामा परिणत हुनसक्ने स्वयम् प्रहरी प्रशासनले निष्कर्ष निकालेको छ ।
असन्तुष्ट पक्षले पोखरी संघर्ष समिति गठन गरेर भित्रभित्रै प्रतिवाद गर्ने तयारी गरेको छ । नवराजपुर– ३ का शिवराम यादवको अध्यक्षतामा गठित पोखरी समितिले ७१ ओटा पोखरीधनीसँग जनही १० हजार रूपैयाँको दरले रकमसमेत संकलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गाउँपालिकाभित्रका ७६ मध्ये मालपोत कार्यालयले ७१ ओटा पोखरीको हैसियत सार्वजनिक रहेको प्रमाणित गरेपछि गाउँपालिकाले उक्त पोखरी ठेक्कामा लगाउने निर्णय गरेको थियो । पुस्तौँदेखि भोगचलन गर्दैआएको पोखरी ठेक्का लगाउने गाउँपालिकाको निर्णयविरूद्व उनीहरू उत्रिएका हुन् ।
यसबीच दुई पटक भिडन्त नै भइसकेको छ । भिडन्तमा दुवैपक्षका घाइते भएका छन् भने एक आक्रमणकारीविरूद्व प्रहरीले अदालतमा मुद्दा समेत दर्ता गरेको छ । पहिलो पटकको भिडन्तपछि निम्तिएको विवाद सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुको पहलमा सामसुम भएपनि पछिल्लोचोटीको भिडन्तपछि उत्पन्न विवाद सामान्य अवस्थामा टुङ्गिने छाँट देखिँदैन ।
पहिलोचोटीको विवाद पाँच बुँदे सहमतिपपछि टुङ्गिएको थियो । गाउँपालिकाले पोखरीमा माछा मार्न खोज्दा असन्तुष्ट पक्षले आक्रमण प्रयास गरेपछि पुनः विवाद उत्पन्न भएको बताइन्छ ।
त्यतिबेलाको आक्रमण रोक्न सुरक्षा निकायले अश्रुग्याँस प्रयोग गरेको थियो भने आक्रमणबाट माछा मार्ने मल्लाहहरू घाइते भएका थिए । समाचार संकलनका लागि घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष दिनेश्वरप्रसाद गुप्तामाथि असन्तुष्ट पक्षबाट हमला भयो । भिडियो खिच्न प्रयोग गरिएको पत्रकार गुप्ताको मोबाइल समेत खोसिएको थियो ।
पहिलो पटकको भिडन्तमा आईटी शाखामा कार्यारत धर्मनाथ मण्डलको दाहिने हातको औंला भाँचिएको छ भने ट्रयाक्टर चालकहरू रामसागर राम, जनक यादव र सञ्जिव यादव घाइते भएका थिए ।
कतिपयले उक्त घटनालाई वर्तमान गाउँपालिका प्रमुख शिवउदगार यादव उर्फ शिवा र निवर्तमान गाउँपालिका प्रमुख विश्वमोहन यादवको राजनीतिक प्रतिस्पर्धाका कारण नियोजित रूपमा भएको बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नवराजपुर गाउँपालिका सभापति समेत रहेका पालिका प्रमुख शिवाको राजनीतिक पृष्ठभूमि तत्कालीन जनतान्त्रिक तराई मुक्तिमोर्चासँग जोडिएको छ । राजनीतिशास्त्रमा स्नातक शिवाले पछिल्लो चुनावमा काँग्रेस नेतृ चित्रलेखा यादवका आफ्नै भाई विश्वमोहन यादवलाई पराजित गरेका थिए । अघिल्लो स्थातीय तह निर्वाचनमा भने शिवा तीनै विश्वमोहनसँग हारेका थिए ।
छलफल गर्दैनन्, पेल्न खोज्छन्
असन्तुष्ट पक्षले शिवाले सरोकारवालाहरूसँग छलफल नै नगरेको आरोप लगाएका छन् । पोखरी सञ्चालनको टेण्डर गर्ने विषयमा पनि उनले पोखरी भोगचलन गरिरहेकाहरूसँग छलफल नगरेपछि विषय जटिल बनेको बताइन्छ । टेण्डरका बेला उत्पन्न विवाद मिलिसकेपछि दोस्रो पटकको भिडन्त पनि शिवाकै कारण निम्तिएको एक जनाको दाबी छ ।
पोखरी भोगचलन गरिरहेकाहरूसँग सरसल्लाह नगरी गाउँपालिकाले एकाएक माछा मार्नथाल्दा प्रतिकार गर्ने क्रममा भिडन्तको अवस्था सिर्जना भएको थियो । यता शिवाले प्रहरी प्रशासनसँग छलफल गरेर माछा मारिएको बताउँदै आएका छन् ।
उक्त घटनापछि नवराजपुरका नागरिक दुई खेमामा विभाजित भएका छन् तर यसबारे बोल्न कोही तयार देखिँदैनन् । पत्रकारमाथि आक्रमण गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले नवराजपुरको यस घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ । एक प्रहरी अधिकारी भन्छन्, ‘नवराजपुरको यो विवादले जुनसुकै बेला मारामारको अवस्था निम्तिन सक्छ ।’ असन्तुष्ट पक्षले सर्वपक्षीय छलफलको माग गरेको छ । तर यसतर्फ कसैले पनि चासो दिएका छैनन् । दुई महिना अघिबाट सुरू पोखरी विवाद हिंसामा परिणत हुन नदिन बेलैमा सतर्कता अपनाउनुपर्ने नवराजपुरका नागरिक अगुवाहरूको सुझाव छ ।
टिप्पणीहरू