विदेश पठाइदिने बहानामा ठग्ने क्रम रोकिएन, महिलासहित दुई जना पक्राउ

विदेश पठाइदिने बहानामा ठग्ने क्रम रोकिएन, महिलासहित दुई जना पक्राउ
सुन्नुहोस्

वैदेशिक रोजगारीमा क्यानाडा र मलेसिया पठाइदिने प्रलोभनमा सर्वसाधारण ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा ठग्दै हिँडेका सुजन गिरी र तुलसा वाग्ले अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।  

झापा घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १, सानटारी बस्दै आएका २४ वर्षीय सुजनले क्यानाडा पठाइदिने प्रलोभन देखाएर रकम असुलेका थिए । उनी १० लाख ८५ हजार रुपैयाँ उठाएपछि फरार भएका थिए । 

त्यस्तै नुवाकोट घर भई हाल काठमाडौंको टोखा बस्दै आएकी २७ वर्षीया तुलसाले पनि मलेसिया पठाइदिने प्रलोभनमा पीडितरुबाट रकम असुलेकी थिइन् । पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ठगहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू