एअरपोर्टबाट फुत्किएको मलद्वारको सुन सडकमा बरामद

एअरपोर्टबाट फुत्किएको मलद्वारको सुन सडकमा बरामद
सुन्नुहोस्

दुबईबाट अवैधरुपमा भित्र्याइएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फुत्काउने समूहका थप दुईजना समातिएका छन् । 

झन्डै एक किलो अवैध सुन ल्याउने व्यक्ति हिजै पक्राउ परेकोमा प्रहरीले आज अरु दुई जनलाई पनि नियन्त्रणमा लिएको हो । हिजो बिहान साढे ९ बजे हिमालयन एयरलाईन्सको जहाजमा दुबईबाट आएका काभ्रेका बाबुलाल दोङ ११ बजेतिर ९६० ग्राम सुनसहित एअरपोर्ट बाहिर सडकबाट समातिएका थिए । 

भन्सार छलीको उक्त सुन विमानस्थलबाट बाहिर निकाल्न सफल उनलाई विशेष सुराकीका आधारमा काठमाडौँ प्रहरीले विमानस्थल बाहिर सडक पेटीमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि दोङलाई सोधपुछ गर्दा सुन मलद्वारमा लुकाई ल्याएको पत्ता लागेपछि प्रहरी वृत्त गौशाला पुर्याई थप चेकजाँच गर्दा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो आकारको सुन मलद्वारमा फेला परेको प्रहरीले जनाएको छ । 

थप अनुसन्धानको क्रममा काभ्रेको रोशी गाउँपालिका-३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका-३ सानो पोखरा स्थायी वतन भई अहिले बनेपा बस्ने ३६ वर्षको मिङ्ग्मा दोर्जे स्याङ्ग्तान छन् । उनीहरुलाई ढल्कुस्थित बिगमार्टको पार्किङ्बाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाईएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू