बाँदरको अनुहार कसको जस्तो सुवास दाइ ?

बाँदरको अनुहार कसको जस्तो सुवास दाइ ?
सुन्नुहोस्

– चेतनाथ आचार्य

सुमधुर बोली, हँसिलो अनुहार, नम्र स्वभाव, मीठो मुस्कान अनि शालिन व्यक्तित्व । व्यक्त गरिएका गहकिला शब्द र परिस्थितिको गहन विश्लेषण क्षमता । प्रश्नकर्ताले जतिसुकै घोक्रो सुकाए पनि अथवा घाँटीका नशा फुलाउँदै कुर्लिए पनि जवाफचाहिँ शीतल र विनम्र । खिपिएका शब्द, बान्कीका वाक्य, सोझो अभिव्यक्ति र थोरैमा धेरै अर्थ बोक्ने स्पष्ट भनाइ । सुवास नेम्वाङका यी पर्याय अब हामीबीचमा सम्झना मात्र ।

सदाझैँ मंगलबार बिहान पाँच बजे (नेपाली समय बिहान ३ नबज्दै) प्रातःकालीन हिँडाइमा थिएँ । फर्कंदा साढे ६ भएको थियो । कोठामा पस्नासाथ सहकर्मी लक्ष्मी लम्सालले अत्यन्त अप्रिय र दुःखद समाचार सुनाउनुभयो ‘सुवास नेम्वाङको हृदयाघातका कारण निधन’ । यस्तो समाचारले स्तब्ध त जो–कोही हुन्छ नै ! मेरालागि चाहिँ संसार शून्य भएजस्तै महसुस गरायो ।

सभामुख हुँदा होस् अथवा संविधानसभा अध्यक्ष हुँदा पनि आफैँ मोबाइल उठाउनुहुन्थ्यो र सहज रूपमा समय दिनुहुन्थ्यो । बरु उहाँका तत्कालीन स्वकीय सचिव बुद्धि खनालले दर्जनौँपटक मोबाइल नम्बर फेर्नुभयो ।    

न्यायाधीशका छोरा, त्यसमाथि आफैँ कानुन व्यवसायी भएकाले पनि हुन सक्छ सुवास नेम्वाङले सधैँ न्याय, समानता, पारदर्शिताको पक्षपोषण गर्नुभयो । उहाँले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका गलत कदमको जमेर आलोचना गर्नुभयो । विपक्षमा मत जाहेर गर्नुभयो । ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्दा त्यसको विरोध गर्दै आउने परिणामबारे सचेत गराउनुभएको थियो । 

जिल्लाबासीलाई कहिल्यै राजनीतिक पूर्वाग्रहका दृष्टिकोणबाट हेर्नु भएन । सार्वजनिक लेखा समितिको सभापति हुँदा पत्रकारका रूपमा मलाई पनि केही बैठकमा बोलाइएको थियो । ०५७ सालतिर एउटा जलविद्युत् कम्पनीमा आर्थिक अनियमितता भएकोबारे नयाँ सडक दैनिक पत्रिकामा श्रृंखलाबद्ध समाचार लेखेको थिएँ । उक्त विषयमा उजुरी परेको रहेछ । सोही विषयमा कुरा राख्न मलाई पनि बोलाइएको थियो । 

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाइदिए । ल्याण्डलाइन टेलिफोन र मोबाइल पनि बन्द भए । २०६१ माघ ६ गते इलामको मंगलबारे निवासी पूर्व प्रहरी निरीक्षक अमर श्रेष्ठको काठमाडौँमा निधन हुँदा सुवास दाइ पनि मलामी जानुभएको थियो । १३ दिनको काजक्रिया ठ्याक्कै माघ १९ गते पर्‍यो । त्यसदिन बिहानैदेखि सबै मलामीलाई बोलाउनुपर्ने थियो । टेलिफोन र इन्टरनेट नै बन्द भएपछि भाइ सुवास ‘क्षितिज’ श्रेष्ठले केही इलामेलाई प्रत्यक्ष भेटेर बोलाइदिन खटाउनुभयो । म सुवास नेम्वाङको मैतीदेवीस्थित डेरामा गएँ । 

सडक चकमन्न थियो । गाडीहरू सीमित थिए । बाटोमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । म डेरामा पुग्दा उहाँसँग एकजना व्यक्ति बसिरहेका थिए । म पुग्नासाथ तिनले अलिक असहज महसुस गरे । छोटो कपाल काटेको र कसिलो ज्यानका ती व्यक्ति कुनै सैनिक अधिकारी अथवा गुप्तचर हुने अनुमान मैले लगाइहालेँ । भेटमा सुवास दाइसँग यसो राजनीतिक गफ चलिहाल्थ्यो । तर उहाँ आफैँ सुरक्षाकर्मीको घेराबन्दीमा भएको महसुस गरेपछि केही पनि कुरा उक्काइन । अमर श्रेष्ठको १३ दिनको सुद्दाइँमा आइदिन आग्रहसहित सामान्य औपचारिक कुराकानी मात्र गरेँ । सुवास दाइसँग बसेका ती व्यक्तिको हालत पनि मेरैजस्तै उकुसमुकुसको थियो । 

सायद सुवास दाइले हामी दुवैजनाको मनोभाव पढ्नुभएछ । ‘तपाईंहरूको आपसमा चिनजान छैन जस्तो छ’ भनेर परिचय गराउनुभयो । ती व्यक्ति सुवास दाइका पारिवारिक सदस्य तथा पाँचथरका एमाले नेता बसन्त नेम्वाङ पो हुनुहुँदोरहेछ । परिचयपछि हामी मज्जाले हाँस्यौँ र खुलेर कुरा ग¥र्यौँ । जसरी मैले बसन्त नेम्वाङलाई शङ्काले हेरिरहेको थिएँ उसैगरी उहाँ पनि मलाई त्यस्तै नजरले हेर्दै हुनुहुँदोरहेछ । 

२०६२ सालको पुस–माघतिर (ठ्याक्कै दिन बिर्सिएँ) वसन्तपुरमा एउटा विरोध सभाको आयोजना भएको थियो । राजाले प्रजातन्त्रमाथि घात गरेको विषयमा नागरिक जुलुस र कोणसभालाई मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कनकमणि दीक्षितलगायतले संबोधन गर्ने कार्यक्रम थियो । एकजना वक्ता सुवास नेम्वाङ पनि हुनुहुँदोरहेछ । म त्यही कार्यक्रमको समाचार रिपोर्टिङ गर्नका लागि मोटरसाइकलमा पुरानो बानेश्वरबाट हुँइकिएर मैतीदेवीको बाटो वसन्तपुर जाँदै थिएँ । मैतीदेवीको सडकपेटीमा सुवास नेम्वाङ उभिएको देखेँ । ट्याक्सी खोज्दै हुनुहुँदोरहेछ । निकै हतारमा हुनुहुन्थ्यो । मैले मोटरसाइकल रोकेर दाइ, नमस्ते भनेँ । उहाँले ‘मिल्छ भने वसन्तपुर छोडिदिनुहोस् न’ भनेर अनुरोध गर्नुभयो । म त्यतै जाँदै छु भन्नासाथ ‘लौ ढुंगा खोज्दा देउता भेटियो’ भन्दै मेरो मोटरसाइकलमा बस्नुभयो । 

२०६९ चैत्र २७ गते वाल्मीकि क्याम्पसमा शहीद रत्नकुमार बान्तवाको स्मृतिमा एउटा कार्यक्रम आयोजना भएको थियो । जसमा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, नेता प्रदीप नेपाललगायत अन्य नेतासँगै सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्यो । त्यसबेला मैले एउटा कविता वाचन गरेको थिएँ । ‘रत्नस्मृति कार्यक्रम त खिरमा अकबरे खुर्सानी हालेजस्तो भयो’ भनेर पछि झलनाथ खनालले प्रतिक्रिया दिनुभएछ । त्यसपछिका भेटमा सुवास दाइले सधैँ मलाई उक्त कविता सम्झाउने गर्नुहुन्थ्यो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँ इलाम २ नम्बर क्षेत्रबाट पुनः निर्वाचित हुनुभयो । मैले फोन गरेर बधाई दिएँ । इलाम १ नम्बर क्षेत्रबाट अर्का कम्युनिष्ट नेता झलनाथ खनाल पराजित हुनुभएको थियो । मैले सुवास दाइलाई बधाई दिने क्रममा भनेँ ‘इलामबाट दुवै नेता जित्नुपथ्र्याे तर झलनाथ खनालजीले हार्नुभयो । उहाँप्रति मेरो सहानुभूति छ ।’

सुवास दाइले हाँस्तै भन्नुभयो, ‘जेएन कामरेडले कसरी जित्नुहुन्छ चुनाव ! खिरमा अकबरे खुर्सानी हालेजस्तो कविता लेखेर तपाईंंले ऊबेलै थला बसाएको हैन र!’ हामी दुवैजना पूर्वस्मृतिमा केहीबेर भुलियौँ ।

२०७२ सालको माघमा उहाँ चीन आउनुभएको रहेछ । त्यसभन्दा अगाडि नै थुप्रैपटक चीनले आमन्त्रण गरे पनि संविधान नबनाई विदेश भ्रमण नगर्ने उहाँको मान्यता थियो । संविधान बनाएर बेइजिङ आएपछि नेपाली दूतावासका तत्कालीन काउन्सिलर रामप्रसाद सुवेदीको मोबाइलबाट फोन गरेर व्यंग्य गर्नुभयो । उहाँको भनाइ थियो ‘भाइ, म तपाईंको कार्यक्षेत्रमा आएको छु । समय भएमा यसो भेटौँ कि भनेर खोजेको नि !’ 

उहाँको स्वागतमा दूतावासले आयोजना गरेको रात्रिभोजमा गएँ र अन्तर्वार्ता लिएँ । पत्रकारिता पेशामा मैले जम्मा उहाँको दुईपटक अन्तर्वार्ता लिएछु । एकपटक २०६७ सालमा ‘यो साता’ पत्रिकाका लागि र दोस्रोपटक चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका लागि । 

उहाँको वाकपटुता कस्तो थियो भन्ने कुराको एउटा उदाहरण पनि यहाँ राख्न चाहन्छु । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यही बेला विमर्श साप्ताहिक पत्रिकाले छापेको एउटा कार्टुनबारे सम्पादक हरिहर विरहीलाई मानहानिको मुद्दा पर्‍यो। कार्टुनमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई बाँदरका रूपमा चित्रित गर्दै रूखमा चढेर नरिवल हातमा समाएको देखाइएको थियो । भुइँमा एकातिर एमाले र अर्कातिर नेपाली कांग्रेसको झुण्ड त्यो नरिवल आफूतिर झारिदिन आग्रह गरिरहेका थिए । नरिवल सर्वोच्चले गर्ने फैसलाको प्रतीकका रूपमा थियो ।

प्रधानन्यायाधीशलाई नै बाँदरका रूपमा चित्रित गरेपछि अदालतमा मानहानिको मुद्दा त पर्ने नै भयो । सुवास नेम्वाङले पत्रकार विरहीका तर्फबाट वकालत गर्नुभएको थियो । उहाँले बहसका क्रममा भन्नुभयो ‘श्रीमान्, त्यो बाँदर नै हो । त्यसको अनुहार मात्र प्रधानन्यायाधीशको अनुहारसँग मिल्न गएको हो ।’ मलाई सोध्न मन लागेको थियो, सुवास दाइलाई ‘प्रधानन्यायाधीशको अनुहार बाँदरको जस्तो कि बाँदरको अनुहार प्रधानन्यायाधीशको जस्तो ? अब मैले यो प्रश्न कसलाई सोध्नु ?’

इलामेले आयोजना गरेका वनभोजदेखि बिहेलगायत शुभकार्यमा उहाँ सधैँ पुग्नुहुन्थ्यो । जिल्लाबासी बिरामी भएर अस्पतालमा रहँदा अथवा कुनै जिल्लाबासीको मृत्यु हुँदा मलामी जान छुटाउनु हुन्नथ्यो । इलामेका बीचमा सुवास नेम्वाङको अनुपस्थिति असम्भव नै थियो । यतिबेला सिंगो इलाम मात्र होइन, सिंगो देश नै टुहुरो बनेको छ । हार्दिक श्रद्धाञ्जली सुवास दाइ !
 

टिप्पणीहरू