किर्ते नियुक्ति पत्र बनाउने शिक्षक र जिसिअविरुद्ध मुद्दा

किर्ते नियुक्ति पत्र बनाउने शिक्षक र जिसिअविरुद्ध मुद्दा

धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलमकुमारी यादव र जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

किर्ते नियुक्ति पत्र बनाएर पदीय हैसियतको दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

शिक्षिका यादवले किसानपुरस्थित भानु उच्च माध्यमिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाएर रामजानकी प्राथमिक विद्यालयमा पदस्थापना भई शिक्षक पदको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरेको अख्तियारको दाबी छ । 

त्यस्तै, जिल्ला शिक्षा अधिकारी मण्डलले यादवको नक्कली नियुक्ति पत्र बनाउन सहयोग गरी सरकारी निकाय वा संस्थालाई हानि पुर्याएको अख्तियारको आरोप छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा ९ को कसुरमा उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा कैद र जरिवाना हुन मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

टिप्पणीहरू