सेनाका निम्ति चीनबाट ४१ ट्रक सौगात
भूगोल र जनसंख्याको हिसाबले नेपाल सानो देश भइकन पनि यसको भूराजनीतिक बनावटका कारण अन्तर्राष्ट्रिय चासो बढ्दो छ । भारत र चीन सीमावर्ती देश भएका कारण उनीहरूको सरोकार रहनु स्वाभाविक नै हुने भयो । सात समुन्द्रपारिबाट अमेरिकाले पनि आफ्ना चासोलाई व्यापक बनाइरहेको छ । हुँदाहुँदा बंगलादेश समेत यसमा पछाडि परेन । सैनिक तालिमका लागि विभिन्न देशबाट ढाका पुगेको टोलीलाई नेपाल ल्याइएको छ ।
भारतले नेपालसँग सूर्यकिरणसहितको संयुक्त सैनिक अभ्यास चलाउँदै आएको छ भने चीनसँग हुने गरेको सगरमाथा मैत्री सैन्य अभ्यास कोभिडका कारणले रोकिएको छ । उसले नेपाली सेनालाई वर्षेनी १ सय ५० मिलियन आरएमबी, अर्थात् करिब दुई अर्ब बराबरको सैन्य सहयोग दिँदै आएको छ । भूकम्पताका स्वास्थ्य सामाग्री, बख्तरबन्द गाडी दियो । अहिले केरुङबाट केही सैनिक सहायताका सामान ल्याइएका छन् । ती सामान लिनका लागि काठमाडौंबाट सेनाका ट्रकको ताँती लागेको छ । त्यसमा पहिला ल्याइएका सामानका स्पेयर पार्टस् र सञ्चार उपकरण रहेको बुझिएको छ । भदौ २५ गते काठमाडौंबाट ४१ वटा ट्रक स्याफ्रुबेसी गएर २८ गते फर्किएका थिए ।
उता, सैन्य भर्नाका क्रममा पूर्वीपृतना हेडक्वार्टर, इटहरीअन्तर्गतको परीक्षा केन्द्रमा शनिबार भएको फोटो काण्डको चर्चा छ । एकजना परीक्षार्थीले आफ्नो टाँसी अर्कैको परीक्षा दिएपछि उनी गिरफ्तारीमा परेका छन् ।
त्यस्तै, बहालवाला सैनिक नेतृत्वले संस्थाका भूपू र रथीलाई बेवास्ता गर्ने क्रमको निरन्तरता जारी छ । पहिला पहिला ‘ट्रयाक टु’ भनेजस्तो अनौपचारिक तवरले समन्वय हुन्थ्यो, अहिले त्यस्तो पनि भइरहेको छैन । भूपू रथिहरूसँग प्रधानसेनापतिको तर्फबाट दुई–तीन हप्ताको अन्तरमा अनौपचारिक तवरले समन्वय हुने गरेको थियो । सशस्त्र र प्रहरीमा पनि त्यस्तो हुने गरेकै छ । शशीभवनमा भने चियापान र खाजाका जमघट पनि रोकिएको गुनासो छ । सेनाका बारेमा बाहिर संख्या र सुविधा कटौतीसहितका अनेकन विवाद र टिप्पणी आइरहेका छन् । ती विषयमा थुप्रै पूर्व जर्नेलले लेख लेखे, अन्तर्वार्ता र भाषण गरे । तर, भित्र कुनै चालचुल छैन । यस्ता विषयमा पूर्णचन्द्र थापाको कार्यकालमा धर्मपालवरसिंह थापाले विज्ञप्ति निकालेरै समर्थन जनाएका थिए ।
उता, पूर्णचन्द्र र अर्का पूर्वप्रधानसेनापति गौरवसमशेर राणाबीच तिक्तता कायमै छ । त्यसो त बढी मानिस जम्मा भएका ठाउँमा पूर्णचन्द्र जाने गर्दैनन् । त्यसो त सैनिक जनशक्तिको जागिर सकिए पनि देशप्रतिको जिम्मेवारी सकिएको मानिँदैन । विदेशतिर अवकाशप्राप्त सैनिक अधिकारीलाई रिजर्भ फोर्सका रुपमा व्यवहार गरिन्छ । अवकाश पाएका जर्नेलहरूले मिडियामा बोल्नु र एकै ठाउँ जम्मा धारणा बनाउनुले धेरै फरक पर्ने सुझाव अहिलेका प्रधानसेनापति प्रभुराम शर्मालाई धेरैले दिइसके, तर नसुनेझैं गरिएको छ । जागिरबाट अवकाश भए पनि उनीहरूले सेवा, सुविधा पाइरहेकै हुन्छन् । स्वास्थ्य सेवा लिइरहेका हुन्छन् ।
भनिन्छ, भूपूलाई तालिम दिनेका रुपमा राख्न सकिन्छ । सेनाविरुद्धका कुरा आउन थाल्दा तिनीहरूलाई प्रतिरक्षामा उतार्न सकिन्छ । ती काम गर्न केन्द्रीय भूपू सैनिक संगठन पनि छ । तर, प्रहरीको जस्तो सक्रिय छैन । रेशम चौधरीको रिहाईअघि प्रहरीहत्यामा संलग्न भएको भन्दै भूपूमहानिरीक्षकहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर नछोड्न दबाब दिएजस्तो सेनाका भूपूहरूमा एकता छैन । बरु, उनीहरू राजनीतिक दलका टिकटमा चुनाव लडेका छन् । कुमार फुदुङ माओवादीतिर लागे । तर, धेरैजसो राप्रपामा छन् । पहिलादेखि नै राजाको सिन्दुर लगाएको भन्ने मानसिकताका कारण सेनाहरू राजावादी हुने गरेका हुन् । पेन्सन खाएर नेता, दललाई गाली गर्नेलाई प्रधानसेनापतिले चाहँदा पेन्सन काटिन सक्छ ।
अर्कातिर, प्रधानसेनापति प्रभुराम थापा आवश्यकताभन्दा बढी नै शीतल निवास जाने गरेको बताइन्छ । उनका भाइ लक्ष्मीनारायण शर्मा काठमाडौंस्थित नागार्जुन नगरपालिका– ४ (सीतापाइला) मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । ०७४ मा एमालेका कृष्णकुमार बलामीसँग हारेका लक्ष्मीले गतवर्ष बलामीलाई नै हराएर जितेका थिए ।
टिप्पणीहरू