ठग धनबहादुर मैतीदेवीमा भेटिए

ठग धनबहादुर मैतीदेवीमा भेटिए

वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३०, सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई प्रहरीले ठगी अभियोगमा पक्रेको छ । उनले कृष्णबहादुर बोगटीलाई मलेसिया पठाएर राम्रो कम्पनीमा जागिर लगाइदिने वाचा गर्दै तीन लाख रुपैयाँ ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मलेसिया जान तीन लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार कमाइने, प्याकिङको काममा लगाइदिने विश्वास दिलाएर रकम हात पारेपछि धनबहादुर सम्पर्कविहीन भएको कृष्णबहादुरको गुनासो छ । त्यसपछि बल्ल आफू ठगिएको चाल पाएका उनले वैदेशिक रोजगार विभागमा उजुरी हालेका हुन् ।  

सोही उजुरीका आधारमा विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र लेखेर धनबहादुरलाई पक्राउ गर्न अनुरोध गरेको थियो । प्रहरीले आज मैतीदेवीको सेतोपुलबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरीले आरोपी धनबहादुरलाई विभागको जिम्मा लगाएको छ ।

टिप्पणीहरू