स्कुलको भवनमा घोटाला गरेको ठहरसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा

स्कुलको भवनमा घोटाला गरेको ठहरसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी भ्रष्टाचारमा तानिएका छन् । विद्यालय भवन निर्माणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

अख्तियारले नगरपालिकाका लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनामध्ये सिम्रौनगढ नगरपालिका-८ कचोर्वास्थित सो विद्यालयको भवन निर्माण गर्दा उनीहरुले आपसी मिलेमत्तोमा चरम अनियमितता गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई दिएर सरकारी रकम नोक्सानी पुर्याएको दावी अख्तियारको छ । 

अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो माग गरिएको छ ।
 

टिप्पणीहरू