जताततै लागुऔषध कारोबार, तीन कारोबारी प्रहरी नियन्त्रणमा

जताततै लागुऔषध कारोबार, तीन कारोबारी प्रहरी नियन्त्रणमा

पर्सामा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ठोरी गाउँपालिका ५, विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ चरेससहित समातिएका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरीका अनुसार जिराभवानी गाउँपालिका १, गमहरियास्थित ना.६१ प ९७०० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको अवस्थामा ३२ केजी चरेससहित श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । 

उता कास्कीको पोखरा महानगरपालिका १४, चाउथेस्थित प्रतिभा टोलबाट पनि प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरामा पक्राउ परेकामा स्याङ्जाका ३१ वर्षीय सन्तोष थापा र पाल्पाका ४० वर्षीय केशबहादुर कुमाल हुन् ।

सन्तोषले लागूऔषध कारोबार गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्रतिभा टोलस्थित डेरामा बस्दै आएको उनको कोठा खानतलास गर्दा लागूऔषधसहित विभिन्न सामग्री फेला परेको हो ।

जसमा नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रुपैयाँ, २ हजार ४ सय ५० भारतीय रुपैयाँ, १ थान ल्यापटप, १ थान ट्याब, विभिन्न कम्पनीको मोबाइल ७ थान, घडी ४ थान र क्यामरा १ थान फेला परेको हो ।

टिप्पणीहरू