जलहरी घोटाला प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बहुचर्चित जलहारी घोटाला काण्डमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा.प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा चलाएको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष डा.मिलनकुमार थापा र विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
उनीहरुले आपसी मिलेमत्तोमा जलहरी निर्माणका क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको अख्तियारको दाबी छ । अख्तियारले दायर गरेको आरोपपत्रमा उनीहरुसँग एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पशुपति मन्दिरको गजुरमा सुनको जलहारी बनाइएको थियो । जलहारीमा १०७.९२४ ग्राम सुन प्रयोग गर्ने भनिए पनि ९६ किलो ८०० ग्राम मात्र प्रयोग भएको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेपछि यो काण्ड चर्चामा आएको थियो ।
सुन हिनामिना भएको भन्दै संसदमा समेत कुरा उठेपछि अख्तियारले जलहारी उप्काएर त्यसमा रहेको सुन तौल गर्दा भ्रष्टाचार पुष्टि भएको थियो ।
टिप्पणीहरू