विदेशका नाममा ठगी बढ्दो, पाकिस्तानी पनि संलग्न

विदेशका नाममा ठगी बढ्दो, पाकिस्तानी पनि संलग्न

वैदेशिक रोजगारीमा माल्टा पठाइदिने प्रलोभनमा रकम ठगी गर्दै आएका एक युवक समातिएका छन् । आकर्षक तलबको आश देखाएर सर्वसाधारण ठगेका रन्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । 

तनहुँको व्यास नगरपालिका-१२ घर भई हाल काठमाडौंको थानकोट बस्दै आएका २९ वर्षीय रन्जनले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने र त्यहाँ पुगेपछि फुड डेलिभरीको काम लगाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ । माल्टा जान प्रतिव्यक्ति आठ लाख लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने आश्वासनमा पीडितबाट पटकपटक गरी छ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

आफू ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभाग गुहारेको र त्यसैका आधारमा प्रहरीले खोजतलास अघि बढाउँदा उनी हिजो सामाखुशीबाट पक्राउ परेको बताइएको छ । थप अनुसन्धान तथा कारबाहीका निम्ति रन्जनलाई विभागको जिम्मा लगाएको प्रहरीले बताएको छ । 

यस्तै, ठगी कार्यमा संलग्न दुई विदेशी नागरिकलाई पनि प्रहरीले समातेको छ । पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नजिर मोहम्मद र अजरवैजनका ३१ वर्षीया आइसेल हुसेनिललाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई हिजो साँझ ठमेलबाट नियन्त्रणमा लिएको बताइएको छ । कार्यालयका अनुसार उनीहरुको साँठगाठमा वैदेशिक रोजगारीमा चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायत देश पठाइदिने प्रलोभनमा ठगी कार्य हुदैँ आइरहेको थियो । 

अनुसन्धानको क्रममा उनीहरुले वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने आश्वासनमा पीडितहरुबाट आठ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू