यौन हिंसा गर्ने सरकारी इञ्जिनियरको पेशी सर्यो

यौन हिंसा गर्ने सरकारी इञ्जिनियरको पेशी सर्यो
सुन्नुहोस्

घरायसी काममा सघाउने युवतीमाथि यौन शोषण गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका सरकारी इञ्जिनियर हरिकुमार पोखरेलले हालेको पुनरावेदनको रिटको सुनुवाई रोकिएको छ । 

उच्च अदालत, पाटनमा आजका लागि सुनुवाई तोकिएकोमा पेशी आगामी बिहीबारका लागि सरेको हो । रिट पेशी चढेसँगै आज बिहान माइतीघर मण्डला र उच्च अदालतबाहिर अधिकारकर्मीहरुले आन्दोलन गरेका थिए । सोही जनदबाबमूलक धर्नाका कारण पेशी सरेको अनुमान गरिएको छ छ । 

काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने देखिएपछि पोखरेलका अधिवक्ताले पेशी सारेको जानकार स्रोतले बतायो । ‘भित्रभित्रै चलखेल भइसकेकाले हरिकुमार आज निस्किने सम्भावना थियो । बिहानको आन्दोलनले दबाब पुग्यो । जिल्ला अदालतको फैसला सदर हुने सम्भावना बढेपछि पेशी नै सारियो’, स्रोतले भन्यो । 

जिल्लाका न्यायाधीश भोलानाथ ढकालको इजलाशले गत भदौमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पोखरेलले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

आफ्नो घरमा काम गर्ने युवतीमाथि पटकपटक बलात्कारको प्रयास गरेको आरोप लागेका उनले धरौटीमा छुट्ने प्रयास गरिरहेका छन् । उनलाई थुनामै राख्नुपर्ने मागसहित आज बिहान महिला अधिकारकर्मीसहितको टोलीले माइतीघर मण्डलामा आन्दोलन गरेको थियो । सोही टोलीले उच्च अदालतबाहिर धर्ना पनि दिएको थियो ।

टिप्पणीहरू