यसरी नियन्त्रणमा लियो प्रहरीले ६ क्विण्टल रातो काठ

यसरी नियन्त्रणमा लियो प्रहरीले ६ क्विण्टल रातो काठ
सुन्नुहोस्

-मनिष गुप्ता 

कपिलवस्तु र अर्घाखाँचीको सिमाना पत्थरकोटबाट आइतबार बिहान सवा ५ बजे कपिलवस्तुु प्रहरीले ठूलो परिमाणमा रातो काठसहित आठ जनालाई नियन्त्रणमा लिएको छ । रक्तचन्दन लोड गरेको ट्रक कपिलवस्तु जान लागेको सूचना शनिबार कपिलवस्तु प्रहरीले पाएपछि नियन्त्रणमा सफलता प्राप्न भएको हो । 

प्राप्त सूचनअनुसार भनिएको ट्रकमा रातो काठ फेला परेको हो । ट्रकसँगै आएको एउटा पिकअपमा समेत रातो काठको गोलिया फेला परेको थियो । प्रहरीले उक्त काठ रक्तचन्दन नै रहेको ठहर गरेको छ । थप अनुसन्धानका लागि काठ र घटना विवरण वन कार्यालयलाई बुझाइएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

उपरीक्षक पौडेल भन्छन्, ‘सूचना रक्तचन्दनको थियो । फेला परेको काठ पनि रातै थियो । पक्राउ परेका एक जनाले रक्तचन्दन भएको बताए । वास्तविकता बुझ्न जिल्ला वन कार्यालयमा विवरण बुझाएका छौं ।’

प्रहरीले रक्तचन्दन जस्तै देखिएको रातो काठ लोड गरेर ल्याइएको ना.५ ख ७३८२ नम्बरको १० चक्के ट्रक र लु.२ च १६३९ नम्बरको बोलेरो डबल क्याप जिप समेत नियन्त्रणमा लिएको छ । कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिश पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीमबहादुर नेपाली पक्राउ परेका छन् ।

रातो काठ ६ सय ५३ केजी रहेको बताइएको छ । रक्तचन्दन नै भए उक्त काठको मूल्य करोडांै पर्छ । कतिपयले पक्राउ गरिएको काठलाई लालीगुराँस प्रजातीको ठानेका छन् ।

टिप्पणीहरू