सर्पको विषविरुद्धको इन्जेक्सन उत्पादन तथा अनुसन्धानमा भ्रष्टाचार

सर्पको विषविरुद्धको इन्जेक्सन उत्पादन तथा अनुसन्धानमा भ्रष्टाचार
सुन्नुहोस्

मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुमार र श्रेष्ठसहित सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्काविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको बताएको छ । 

त्यस्तै, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचारको आरोपसहित मुद्दा हालिएको छ ।

उनीहरुको मिलेमतोमा प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा समावेश गरेर लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना, व्यवस्थापन र सञ्चालन कार्यमा अनियमितता भएको आयोगको दाबी छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू