दारी काट्ने मेसिन नदिएको निउमा चक्कुले हानेर बाबुको हत्या

दारी काट्ने मेसिन नदिएको निउमा चक्कुले हानेर बाबुको हत्या

लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा क्व्होलासोथार गाउँपालिका-९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन् । चक्कु प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएको असोज १० गते छोरा २८ वर्षीय सुजन विकले चक्कु प्रहार गर्दा दिलबहादुर गम्भीर घाइते भएका थिए । स्थानीयका अनुसार दारी काट्ने मेशिन माग्दा नदिएपछि पहिले बाबुलाई पाखुरामा हिर्काएका सुजनले त्यसपछि चक्कु हानेका हुन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताए । 

घटनामा संलग्न सुजनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू