टेलिभिजनभित्र आधा किलो सुनको तार

टेलिभिजनभित्र आधा किलो सुनको तार

मलेसियाबाट काठमाडौं आएका एक जना यात्रुले टेलिभिजनभित्र आधा किलोग्राम सुनको तार लुकाएर ल्याएका छन् । हिजो दिउँसो १ बजे मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच १७० मा आएका सिन्धुलीका ३३ वर्षे नवराज धामीले ल्याएको टेलिभिजनभित्र सुनको मसिनो तार ५१० ग्राम लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

दुधौली नगरपालिका ३, झुंगाका ०८२१६४९९ नम्बरको राहदानी बोकेका धामीले सोनी कम्पनीको ४३ इञ्च टेलिभिजनमा उक्त सुन फेला परेको हो । धामी मलेसियाको वेस्टर्न डिजिटल कम्पनीमा काम गर्थे ।

उक्त कम्पनीले विद्युतीय आईसी, ट्रान्जिस्टर, स्यान्डिक्स मेमोरीकार्ड, पेन ड्राइभ उत्पादन गर्ने गरेको बुझिएको छ । १२ वर्षदेखि मलेसियामा कार्यरत उनलाई थप अनुसन्धानको निम्ति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट धामीले आफू कार्यरत कम्पनीमा त्यस्ता विद्युतीय उपकरणमा प्रयोग भएका सुनको तार एक वर्ष लगाएर झिकिएको तथ्य खुलेको छ ।
 

टिप्पणीहरू